काठमाडौं– भारतीय गायिका आशा भोस्लेले साङ्गीतिक प्रस्तुति दिएकी छिन्। शनिबार काठमाडौँको एक होटलमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा दर्शकहरु खचाखच भरिएका थिए। कुर्सी भरिएपछि केही दर्शकहरु उभिएरै भए पनि कार्यक्रमको अवलोकन गरे।
साधाना कला केन्द्रको आयोजनामा गरेकाे कार्यक्रममा रञ्जित गजमेरले सङ्गीत गरेका गीतहरु घन्किए। भोस्लेले पनि गजमेरको सङ्गीतमा रहेका केही नेपाली गीतमा स्वर दिएकी थिइन्।
उनले नेपाली गीतहरु किन बढ्दैछ ढुकढुकी मुटुको, आगेआगे तोपकै गोला, डाँडा खोलाबगर, झझल्को लिएर आएछ, माइतीघर, मोहनी लाग्ला है लगायतका गीत प्रस्तुत गरिन्। मोहनी लाग्ला है गीतमा गायक रामकृष्ण ढकालले भोस्लेलाई साथ दिएका थिए।
करिब २० मिनेट गीत गाउँदा दर्शकदीर्घाबाट पटक–पटक तालीको गडगडाहट बर्सियो। दर्शकको समर्थन र हौसलाबाट उनी उत्साहित देखिन्थिन्। ८६ वर्षीया गायिका भोस्लेले अहिले पनि उस्तै गरी गीत गाएको देख्दा दर्शक अचम्मित भए। उनले हरे कृष्ण हरे राम बोलको हिन्दी गीत पनि गाएकी थिइन्।
भोस्लेले नेपालमा आउँदा पाएको सम्मान स्मरणयोग्य रहेको बताइन्। उनले गजमेरलाई पटक–पटक कान्छा भनेर बोलाउँदा गजमेर निकै खुसी देखिन्थे। उनले नेपाली अतिथिको सम्मान र सत्कारमा सधैँ अघि रहने गरेको बताइन्।
कार्यक्रममा इन्द्रजीत मिजार, भारती घिमिरे, दीप श्रेष्ठले पनि प्रस्तुति दिएका थिए। अन्य थुप्रै कलाकारले रञ्जित सङ्गीत र उनकी पत्नी कुशुम गजमेरका शब्दमा रहेका गीतहरु गाएका थिए।
कार्यक्रमको प्रमुख अतिथि बनेका उपराष्ट्रपति नन्दबहादुर पुनले भोस्लेको प्रस्तुति अभिरुचिपूर्वक अवलोकन गरेका थिए। रासस
तस्बिर रामकृष्ण ढकालकाे फेसबुकबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।