काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा बढी कर तिर्नेलाई नै गोकर्ण रिसोर्टको जग्गा भाडामा दिइएको बताएका छन्। शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले हचुवाका भरमा गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि नथपिएको दाबी गरे। पछिल्ला घटनाक्रमहरुलाई उल्लेख गर्दै उनले विरोधीहरुले भनेजस्तो हचुवाका भरमा मात्र गोकर्णको लिज अवधि नथपिएको दाबी गरेका हुन्।
‘गोकर्ण रिसोर्टको लिज अवधि थपियो। हचुवाका भरमा मूल्य राख्ने, हचुवाका भरमा दिने भनेर विरोध भयो। विभिन्न स्वतन्त्र संघसंस्थाहरुबाट मूल्याङ्कन गराएर मूल्याङ्कनका विधिहरु तयार गरेर त्यस विधि अन्तर्गत दिइएको हो,' प्रधानमन्त्रीको भनाइ थियो, 'जब कसैले लिज लिएको छ र उसले प्रगति गर्छु, आकर्षक कर तिर्छु, लिजको रकम राम्रो तिर्छु भन्छ भने उसले नपाउने भन्ने कुरा होइन।'
पार्टीभित्रै सरकारलाई बदनाम गराउन प्रयास भइराखेको आरोपसमेत लगाएका छन्। सरकारले गरेका कामहरुमा भ्रम सिर्जना गर्ने र विकास निर्माणका कुनै काम गर्न नदिने प्रवृति बढेको उनको भनाइ थियो। पार्टी भित्रैपनि कवितावाचन गरी विरोध मात्र गर्ने तर सरकारका राम्रा काममा केही बोल्न नसक्नेहरु सक्रिय रहेको उनको दुखेसो थियो।
सरकारले असाधारण हिसाबले नयाँ नयाँ योजनाहरु ल्याएकोले विरोधीहरु सक्रियता बढेको उनको भनाइ थियो। ‘मैले खोलाको बाटोबाट पनि हामी आवागमन गर्न सक्छौं भनेँ मलाई उडाए। हामी समुद्रमा जहाज चलाउन सक्छौं भनेँ त्यसमा पनि उडाए। कति दयनीय अवस्था छ विरोधीहरुको, पानीमा पानीजहाज चल्छ भन्ने कुरा पनि थाहा पाएका छैनन्। नदीमा स्टिमर चल्छ, जहाज चल्छ भन्ने त थाहा पाउनु पर्छ नि,’उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउन देश विदेशबाट संगठित प्रयास भइरहेको दाबी गरे। बहुमतलाई पराजित बनाउन देश विदेशका शक्तिहरु लागेको टिप्पणी गरे।
साधनस्रोत सम्पन्नहरुले सञ्चार क्षेत्रमा लगानी गरी सरकारलाई हमला गर्न सक्रिय रहेको समेत उल्लेख गरे। ‘साधन स्रोत सम्पन्नहरुले साधन र स्रोतको प्रयोग गरेर र खासगरी विभिन्न सञ्चार माध्यमहरु, सामाजिक सञ्जाल प्रयोग गरेर त्यसमा लगानी गरी हमला गर्न खोज्छन् र साना उपलब्धिहरुलाई ओझेल पार्ने र नभएका कुराहरुलाई उचाल्ने, सबै जनाले अन्तरवस्तु बुझ्न पाएको हुँदैन, त्यसकारण भ्रम फिजाएपछि त्यो भ्रमको असर परिराखेको हुन्छ,' प्रधानमन्त्रीले भने।
राजनीतिकरुपमा थुप्रै उपलब्धिहरु प्राप्त गरेको अवस्थामा अझै पनि सफलतालाई पराजित बनाउन खतरनाक प्रयासहरु भइराखेको उनको भनाइ थियो। ‘हामीले राजनीतिक रुपमा थुप्रै उपलब्धीहरु हासिल गर्यौं, हाम्रै जीवनकालमा निरंकुश निर्दलीय पञ्चायती व्यवस्था ढलेको छ, निरंकुश राजतन्त्रात्मक प्रणालीलाई ढाल्यौं। हामीले जनतालाई वास्तवमा सार्वभौंम सत्ता सम्पनन बनाइएका छौं र अब हाम्रा अधिकारहरु संविधानले सुनिश्चित पनि गरेको छ। संघीय लोकतान्त्रीक गणतन्त्त हाम्रो बाटो पनि निश्चित भएको छ अब हामीले एकताबद्ध भएर सही बाटोमा राष्ट्र निर्माणको दिशामा अगाडी बढ्ने छ। जुन आजको आवश्यकता हो।’
पहिचानका नाममा राजनीति गर्नेहरूप्रति पनि उनले आक्रोश पोखे। ‘पहिचानको राजनीति भनेर जातजातमा लगाईदिने, भुगोल भुगोलमा लडाईदिने साम्प्रदायिक विद्रोहमा जनतालाई फसाइदिने देशलाई रुवान्डा गराइदिने त्यस्ता प्रयासहरुमा बबण्डर चल्यो, हामीले झण्डैझण्डै नेपाली भेनर विर्सने र नेपाली भनेर हामीलाई बिर्साउने प्रयास भए पहिले म फलाने जात त्यसपछि नेपाली भन्ने कुराहरु, जातजातका बीचमा हिंसा, तराई र मधेस, पहाड र मधेश, हिमाल र पहाड अनेक प्रकारका कुराहरु पनि उचालिए,’ उनको टिप्पणी थियो।
प्रधानमन्त्री ओलीले अब राजनीतिक स्थायित्व आएको र विकास निर्माणका गतिवधिले तीब्रता पाएको दाबी गर्न भने छुटाएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।