काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जेमा पनि विरोध गर्ने लहर चलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बालुवाटारमा आयोजित प्रेस संगठनको एक कार्यक्रममा उनले विरोध गर्ने लहरलाई रोक्नुपर्ने बताए।
'हामीले असाधारण खालको बहुमत ल्याएका छौं। केन्द्रमा मात्रै होइन। प्रदेश र स्थानीय तहमा पनि ल्याएका छौं। यो बहुमत, स्थिरता, स्थायित्व र अग्रगमनलाई कायम रहन नदिन, ध्वस्त पार्न, बदनाम गर्न, भ्रम फिजाउन, जनतामा नकारात्मक भाव फैलाउन अनेक प्रयास देश विदेशबाट भएका छन्। प्रतिक्रियावादी शक्तिहरु यसमा बहुतै मेहनतसाथ लागेका छन्। गोयबल्स पाराले भनेको भनै भनेको भनै गर्ने, जेमा पनि विरोध, जेमा पनि विरोध, जेमा पनि विरोध। यसप्रकारको लहर चलेको छ। त्यसलाई हामीले रोक्नुपर्ने छ', उनले भने।
विगतमा नेपालीलाई फुटाउने अनेक प्रयास भएको ओलीले बताए। 'म नेपाली हुँ' भन्नुभन्दा अघि 'म फलानो जातको हुँ' भनेर विभाजित गर्ने प्रयास भएको उनले बताए। 'नेपाललाई रुवान्डा बनाउने प्रयास भयो', उनले भने।
नेपाली नेपालीलाई विभाजन गर्ने अनेकौं खतरनाक प्रयासहरुलाई आफूहरुले परास्त गरेको प्रधानमन्त्री ओलीको दाबी थियो।
स्थायित्वको पक्षमा दृढताका साथ उभिएर जोगाउन सकिएन भने, स्थिरता कायम गर्न सकिएन भने हामीले गरेका उपलब्धीहरु जनताको बीचमा पुर्याउन सक्नुपर्ने बताए।
उनले इतिहासमा सबैभन्दा बढी उपलब्धी हासिल गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।