काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले बुर्जुवाको हातमा मिडिया पुगेको बताएका छन्।
शनिबार बालुवाटारमा आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिडियामा बुर्जुवा शक्ति हाबी भएको बताएका हुन्। मिडियामा बुर्जुवा शक्ति मौलाएकाले यसबाट जोगिनुपर्ने उनको भनाइ थियो।
उनले राष्ट्रिय एकता र समृद्धिको लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे।
‘अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ। त्यसमा पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्यरूपमा काम गरेको छ। त्यसको लागि जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ,’ अध्यक्ष प्रचण्डको भनाइ थियो।
परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यो कुनै हालतमा सफल हुन नसक्ने धारणा उनले राखेका थिए।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिबद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको अध्यक्षको दाबी थियो।
‘पार्टी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौं। पाँच वर्षको लागि सरकार दिन्छौँ भनेका थियौँ, त्यो हामीले दिएका छौं। पाँच वर्षको लागि बनेको सरकारले इमानदारीका साथ काम गरिरहेको छ,’ उनले भने। तस्बिर : सिएम प्रचण्ड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।