सुर्खेत– अहेब प्रतिमा गौतम नेपाल बाल पोलिक्लिनिक सुर्खेतमा कार्यरत छिन् भने स्टाफ नर्स कल्पना बस्नेत मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा। यी दुई सहेली यतिबेला आफ्नो काम सँगसँगै आर्थिक अभावका कारण उपचारबाट वञ्चित एक बालिकाका उपचारका लागि सहयोग जुटाउँदै छन्।
मुटुमा प्वाल भएकी वीरेन्द्रनगर ११ झुप्राखोलाकी नौ वर्षीया अञ्जली बादी आर्थिक अभावकै कारण उपचारबाट वञ्चित भएकी थिइन्। प्रतिमा र कल्पनाले विंग्स फाउन्डेसन सुर्खेतमार्फत सहयोग संकलन गरेपछि उनले अब उपचार पाउने भएकी छन्।
फाउन्डेसनका क्रियाशील सदस्य अहेब गौतम र स्टाफ नर्स बस्नेतले आफैंले र सामाजिक सञ्जालमार्फत सहयोग संकलन गरेका हुन्। शनिबारसम्ममा ५३ हजार रुपैयाँ संकलन भइसकेको गौतमले जानकारी दिइन्। उनीहरुले अहिले पनि अञ्जलीको उपचारका लागि आवश्यक रकम संकलन गरिरहेका छन्।
उपचारमा लाग्ने सबै रकम जुटाउने गरी अघि बढेको कल्पना बस्नेतले बताइन्। परिवारको आर्थिक अवस्था कमजोर हुँदा अञ्जलीको उपचार हुन नसकेको थाहा पाएपछि आफूहरुले सहयोग संकलन गर्न जुटेको उनले जनाइन्। सबैले सकेको सहयोग गरेमा अञ्जलीको उपचार सहज हुने बस्नेतको भनाइ छ।
फाउन्डेसनका प्रमुख एवं नेपाल बाल पोलिक्लिनिक सुर्खेतका सञ्चालक डा नवराज केसीले पनि अञ्जलीको जीवनरक्षाका लागि सक्दो सहयोग गर्न सबैसँग आग्रह गरे। डा केसीका अनुसार, अञ्जलीलाई जन्मँदादेखि नै मुटुमा देखिएको प्वाल नपुरिएका कारण समस्या भएको छ। मुुटुमा देखिएको प्वालको समयमा नै शल्यक्रिया नभए ज्यान जाने उच्च जोखिम हुन्छ।
सरकारले मुटु रोगको उपचार निःशुल्क गर्ने भए पनि अन्य खर्च समेत व्यहोर्न सक्ने अवस्था नभएकाले छोरीको उपचार पाउन नसकेको अञ्जलीका बुबा घनश्याम बादीले बताए। ‘उपचारका लागि करिब तीन लाख लाग्छ’, उनले भने, ‘घरमा साँझ–बिहान छाक टार्ने चिन्ता हुन्छ, उपचार गर्ने पैसा कहाँबाट ल्याउने?’
उनले अञ्जलीको उपचारका लागि सहयोग गर्न चाहनेले ९८२५५७७५१३ र ९८१४५९९३१३ मा सम्पर्क गर्न आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।