एएफपी– रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच पछिल्लो समय भइरहेका भनाभन ‘बच्चाहरुको झगडा जस्तै’ भएको प्रतिक्रिया दिएका छन्।
ट्रम्प र किमबीच एक अर्कालाई होच्याउने वा नजरअन्दाज गर्नेखालका अभिव्यक्तिको आदानप्रदानलाई लिएर रसियाली विदेशमन्त्री लाभरोभले यस्तो प्रतिक्रिया दिएका हुन्।
अमेरिकी राष्ट्रपतिले केही दिन पहिले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियालाई पूरै ध्वस्त पारिदिने अमेरिकाको क्षमता रहेको बताएपछि किमले ट्रम्पलाई ‘दिमागी हालत ठीक नभएको गुन्डा’ भनेका थिए।
यसको प्रतिक्रियामा ट्रम्पले उत्तर कोरियाली नेता किमलाई शुक्रबार ‘एकजना पागल मानिस, जसलाई अहिलेसम्म नगरिएको जाँच गरिनेछ’ भनी ट्विट गरेका थिए।
किमले ट्रम्पको भाषणलाई ’कुकुरको भुकाइ’ को संज्ञा दिएको विषय नसेलाउँदै थप वाकयुद्धको अवस्था देखिएपछि लाभरोभको भनाइ आएको छ।
राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका रसियाली विदशमन्त्री लाभरोभले दुई नेताबीचको ‘तनाव शान्त पार्न’ जरुरी रहेको शनिबार एक पत्रकार सम्मेलन गरी बताएका थिए।
उनले भने, 'न त कोरियाली प्रायद्वीपमा युद्ध थाल्नु हामीलाई स्वीकार्य कुरा हुन सक्छ न उत्तर कोरियाको पारमाणु अस्त्र विकासलाई चुपचाप हेरेर बस्न नै। समस्याको समाधान राजनीतिक प्रक्रियाबाट खोज्नुपर्छ। यो संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको एउटा जिम्मेवारी पनि हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।