काठमाडौं– चैत्त १७ गतेदेखि धनगढीमा हुने धनगढी प्रिमियर लिग–२ (डिपिएल) टिम काठमाडौं गोल्डन्सले दुई जना विदेशी खेलाडी आवद्ध गरेको छ।
काठमाडौंले भारतका दुई जना खेलाडीहरु जयकिसन कोल्सावाला र सन्नी पटेललाई टोलीसँग अनुबन्ध गरेको हो।
गुजरातका कोल्सावाला विकेटकिपर ब्याट्सम्यान हुन् । भारतको रण जी ट्रफी खेलिसकेका उनले लिस्ट ए का ४ तथा फस्ट क्लासका ९ खेल खेलिसकेका छन् । त्यस्तै अर्का रण जी प्लेयर सन्नी पटेल राइट ह्यान्डेड ब्याट्सम्यान हुन् । उनले फस्ट क्लासका १३ तथा लिस्ट ए का १७ खेल खेलिसकेका छन् ।
दुवै खेलाडीले यसअघि एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रिओट्सबाट खेलेका थिए।
यसअघि शक्ति गौचन रणनीतिक खेलाडी रहेको रुपन्देहीले पनि २ विदेशी खेलाडी भित्राएको थियो। रुपेन्देहीले ओमानका सुफायन मोहम्मदलाई आवद्ध गरेको थियो। यस्तै क्रिकेट एशोसियसन अफ बंगाल, कलकत्ताका दीपक प्रसाद पनि रुपन्देहीमा अनुबन्ध भएका थिए।
ओमानका राष्ट्रिय टोलीका सदस्य समेत रहेका सुफायन लेफ्ट ह्यान्डेड ब्याट्सम्यान हुन्। २६ वर्षिय सुफायन पार्ट टाइम बलिङ समेत गर्ने गर्छन।दीपकले बीसीसीआईको प्रतियोगितामा बंगाल–११ तथा बंगाल यू–२३ टोलीबाट खेलिसकेका छन्।
डिपिएलमा आवद्ध सवै टिमले २ जना विदेशी खेलाडी भित्राउनु पर्ने प्रावधान छ। जसअनुसार अब चार टिमले विदेशी खेलाडी सार्वजनिक गर्न बाँकी छ।
चैत १७ गते हुने उद्घाटन खेलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ। १५ दिन चल्ने प्रतियोगितामा ६ टिमको सहभागिता छ। लिग चरणमा १५ खेल हुनेछ।
प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता छ।
प्रत्येक टिमले १३–१३ खेलाडी अक्सनमार्फत आफ्नो टिममा भित्राइसकेका छन्। ६ फ्रेन्चाइज टिमले ११ जना खेलाडी अक्सनबाट, १ रणनीतिक खेलाडी, दुई विदेशी तथा एक जना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था छ।
प्रतियोगिताका लागि रणनीतिक खेलाडी घोषणा गरिएको थियो। महेन्द्रनगरको रणनीतिक खेलाडी विनोद भण्डारी छन्। त्यस्तै, चौराहाका सोमपाल कामी, अत्तरियाका दीपेन्द्रसिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल र विराटनगरका पारस खड्का छन्।
प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछ। यस्तै, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले तीन लाख र चौथो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।