रसुवा- विदुर खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएकोले वेत्रावती पुलबाट रसुवा प्रवेश गर्ने ठूलो सवारी साधन आवतजावतमा रोक लगाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका रामशरण कुमालका अनुसार रसुवा नुवाकोट सिमानामा रहेको वेत्रावती पक्की पुलसँगै खानेपानीको पाइप फुटी अत्याधिक पानीको बहावले सडकको पिच भासिन गएपछि केरुङ तथा सदरमुकाम धुञ्चे जाने सबै ठूला सवारी साधनलाई नुवाकोटको तुप्चेतर्फबाट मैलुङतर्फ पठाइएको हो।
शुक्रबार भएको सो क्षतिबाट सँगै फलाखु खोलामा नयाँ बन्दै गरेको राजमार्गको नयाँ पुलमा काम गर्न असहज भइरहेकाले खानेपानीको पाइप मर्मत कार्य अगाडि बढिरहेको छ।
दैनिक १५-२० वटा ट्रक र मालवाहक कन्टेनर ओहोरदोहोर गर्ने सो मार्गमा कम्तीमा पाँच दिनभन्दा बढी आवतजावतमा रोक लगाइने ट्राफिक प्रहरीले जनाएको छ। ठूला सवारी साधन सञ्चालन गर्ने सबै सवारी चालकले ढुङ्गे, त्रिशूली, आँबुटार, तुप्चे, नयाँपुल, शान्तिबजार हुँदै यातायात सञ्चालन गर्न आग्रह गरिएको समेत ट्राफिक प्रहरीले जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।