लहान– ६ जनाभन्दा बढी घाइते हुनेगरी शुक्रबार भएको बम विस्फोटका दोषीलाई कारबाही गर्न माग गर्दै शनिबार सिरहाको लहान बजार बन्द गरिएको छ।
उद्योग वाणिज्य संघ लहानको आह्वानमा बजार बन्द गरिएको हो। लहान बजारका सम्पूर्ण पसल बन्द भएको अध्यक्ष सुनिल महतोले जानकारी दिए। तीन/चार महिनादेखि पटक–पटक उद्योगी तथा व्यापारीकेन्द्रित विस्फोट र आक्रमण बढेपछि सरकारी निकायलाई सचेत गराउन बन्दको आह्वान गरिएको महतोको भनाइ छ।
‘३/४ महिनामा पटक–पटक गरी ४/५ वटा आक्रमण भए, तर सुरक्षा निकायले यसलाई संवेदनशील रुपमा लिएको छैन’, अध्यक्ष महतोले भने, ‘हामीले हरेक पटक प्रहरी प्रशासनमा कुरा राखेका छौं। अनुसन्धान गर्दैछौं र माथि कुरा राखेका छौं भन्ने बाहेक कुनै काम अघि बढेन।’
व्यापारी–व्यवसायीको सुरक्षाका लागि पशासनले ठोस कदम नचाले अझ सशक्त आन्दोनलका कार्यक्रम चलाउन आफूहरु बाध्य हुने अध्यक्ष महतोले बताए।
लहान बजारस्थित विकास ट्रेडर्समा शुक्रबार कुकर बम विस्फोट हुँदा ८ जना घाइते भएका थिए। दिउँसो करिब १ बजे भएको विस्फोटमा ७ वर्षीय बालक पनि घाइते भएका थिए।
विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ। मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग लिन गएका आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गर्ने षड्यन्त्र गरेकाले चेतावनी स्वरुप प्रेसर कुकर बम विस्फोट गराएको उल्लेख गरेका छन्।
तराईको स्वतन्त्रताका लागि सशस्त्र संघर्षमा रहेको मोर्चालाई हतियार र विस्फोटक पदार्थ खरिद गर्न आर्थिक संकट परेको र आर्थिक संकलनका लागि चलाइएको अभियानमा षड्यन्त्र गरेकाले बम विस्फोट गराएको मोर्चाको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।