काठमाडौं- भारतीय चर्चित गायिका आशा भोस्लेले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेकी छन्। भोस्लेले राष्ट्रपति निवास शीतल निवासमा पुगी राष्ट्रपतिसँग भेटघाट गरेकी हुन्।
शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन उनी बुधबार नेपाल आएकी हुन्। साधना कला केन्द्रको आयोजनामा हुन लागिरहेको बृहत् सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन भोस्ले नेपाल आएकी हुन्।
राष्ट्रपति भण्डारीले भोस्लेले नेपाली गीतसङ्गीतको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेको भेटघाटमा संलग्न केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए।
‘उहाँका गीतबाट राष्ट्रपति भण्डारी निकै प्रभावित हुनुहुँदो रहेछ,’ मोक्तानले भने, ‘भोस्लेसँग भेट गर्न पाउँदा राष्ट्रपति धेरै खुशी हुनुभयो।’ भेटमा देशको समसामयिक घटनाक्रमका विषयमा समेत छलफल भएको उनले जानकारी दिए। भोस्लेले नेपालमा आफूले सोचेभन्दा धेरै सम्मान पाएको विषय राष्ट्रपतिलाई अवगत गराएकी थिइन्। ‘विमानस्थलमा नेपाली संस्कृतिले गरेको स्वागत स्मरणयोग्य रहेको उल्लेख गर्नुभयो।’ मोक्तानले भने।
शनिबार हुने कार्यक्रममा गायिका भोस्लेले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है लगायतका आफूले स्वर दिएका थुप्रै नेपाली गीत गाउनेछिन्।
उनलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनेछन्। केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार पनि नेपाल आएका छन्।
भोली हुन लागिरहेको कार्यक्रमले नेपालको साङ्गीतिक क्षेत्रमा दीर्घकालीन महत्व राख्ने मोक्तानले बताए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।