काठमाडौं- नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइतलाई शुक्रबार ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ।
राजधानीमा आयोजित एक समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरूलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेका हुन्। साल्ट ट्रेडिङ कर्पोेरेशन लिमिटेडको सहयोगमा नेपाल जनप्रशासन सङ्घद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशि जनही दुई लाख रुपैयाँ रहेको छ।
समारोहमा उपराष्ट्रपति पुनले घिसिङ र डा रुइतजस्तै सबै इमान्दार र कर्मठ भइदिए देश बन्न समय नलाग्ने बताए। सबै प्रशासक, कर्मचारी, नेता यस्तै इमान्दार र निःस्वार्थ भइदिए देश स्वर्ग बन्ने उनको भनाइ थियो।
उनले नैतिकता र जिम्मेवारी नभुल्नसमेत कर्मचारीलाई आग्रह गरे । ‘एकजना प्रशासकले इमान्दार भएर काम गर्ने हो भने देशमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने रहेछ, एकजना चिकित्सक इमान्दार भए सर्वसुलभ स्वास्थ्य सेवा दिन सकिने रहेछ भन्ने कुरा प्रष्ट भएको छ, देशमा सेवारत सबैले उहाँहरुबाट शिक्षा लिनुपर्दछ,’ उपराष्ट्रपति पुनले भने।
समारोहमा दुई वर्षको सम्मान एकै पटक प्रदान गरिएको थियो। ऊर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै घिसिङलाई विसं २०७३ सालको र आँखा उपचारमा योगदान पुर्याएको भन्दै डा रुइतलाई २०७४ सालको हेमबहादुर मल्ल सम्मान प्रदान गरिएको सम्मान छनोट समितिका संयोजक पूर्वसचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिए। डा रुइत मेगासेसे पुरस्कारबाट सम्मानित भइसकेका छन्।
सो कार्यक्रममा चौतिस वर्ष साल्ट ट्रेडिङमा काम गरी २५ वर्ष महाप्रबन्धक जिम्मेवारी सम्हाल्नुभएका हेमबहादुर मल्लले संस्थालाई पहिचानयोग्य बनाएको स्मरण गरिएको थियो।
उनको योगदानको कदरस्वरुप विसं २०५९ देखि उक्त सम्मान कार्यक्रम थालिएको हो। मल्लको २०५७ कात्तिक १२ गते निधन भएको थियो। उनलाई प्रशासक/व्यवस्थापकको ‘रोलमोडल’ का रूपमा लिने गरिन्छ।
बागलुङमा जन्मिएका मल्ल विसं २०२० मा साल्ट ट्रेडिङमा व्यवस्थापकका रूपमा प्रवेश गरेका थिए।
यसअघि उक्त सम्मान राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नागरिक अगुवा देवेन्द्रराज पाण्डे, चाँदनी जोशी, केदारभक्त माथेमा, डा विमल कोइराला, डा भगवान् कोइराला, अम्बिका श्रेष्ठ लगायतलाई प्रदान गरिसकिएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।