काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन २०७७ फागुनमा हुने भएको छ।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले २०७७ फागुन ७ देखि १० गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन हुने गरी मिति तोकेको हो।
संस्थापनइतर समूहका नेताहरुले बहिष्कार गरेको बैठकले बहुमतका आधारमा निर्णय गरेको हो। केन्द्रीय समितिको बैठकले महाधिवेशनकेन्द्रित कार्यतालिकासमेत सार्वजनिक गर्ने निर्णय गरेको छ। बैठकले पार्टीको विधानअनुसार वर्तमान कार्यसमितिको अवधि एक वर्ष थपेको नेता मीन विश्वकर्माले जानकारी गराए।
बैठकले पारित गरेको महाधिवेशनको कार्यतालिकाअनुसार माघदेखि अर्को वर्ष (२०७७) को जेठसम्म क्रियाशील सदस्यता वितरण गरिनेछ। २०७७ कार्तिकदेखि पुससम्ममा स्थानीय तहको अधिवेशन सक्ने कार्यतालिका बनाइएको छ।
नेपाल तरुण दलको विधानअनुसार एकपटकलाई ६ महिना अवधि थप्न सकिने विधानको प्रावधानअनुसार जीतजंग बस्नेतको कार्यसमितिलाई ६ महिना अवधि थपिएको छ। पार्टी सभापतिलाई तरुण दललाई पूर्णता दिने जिम्मेवारीसमेत दिइएको नेता विश्वकर्माले जानकारी दिए।
विभागको संख्या बढाएर ४३ बनाउने निर्णयसमेत गरिएको छ। मंसिर २६ को केन्द्रीय समिति बैठकमा पार्टी सभापति देउवाले १३ विभाग थप्ने प्रस्ताव गरेका थिए। विधानअनुसार २८ विभाग भएको कांग्रेसले १५ विभाग थपेर ४३ बनाउने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।