घान्द्रुक- कास्कीको उत्तरी भेगमा पर्ने सुन्दर गाउँ हो घान्द्रुक। अन्नपूर्ण पदमार्गमा पर्ने घान्द्रुक पदयात्रा, हिमाली दृश्यावलोकन र गुरुङ संस्कृतिको अवलोकनका लागि पर्यटकहरुको रोजाइमा पर्ने गन्तव्य हो।
पदयात्राका लागि नेपाल आउने पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढी पर्यटक यो गाउँ भएर पदयात्रा गर्छन्। पोखराबाट करिब ६-७ घन्टाको पैदल यात्रामा घान्द्रुक पुग्न सकिन्छ भने पोखराबाट गाडीमा करिब ३ घन्टाको यात्रापछि किम्चे भन्ने ठाउँबाट करिब ४०-४५ मिनेट उकालो लागेपछि घान्द्रुक पुगिन्छ।
अन्नपूर्ण आधार शिविर लगायत लान्द्रुक, घोरेपानी, पुनहिलजस्ता अन्य पर्यटकीय क्षेत्रको यात्रा घान्द्रुककै बाटो हुँदै गरिन्छ। प्रशस्त होटेल र होम स्टेहरु सञ्चालित घान्द्रुकमा आन्तरिक पर्यटक पनि उत्तिकै पुग्ने गरेका छन्। विशेषगरी अन्नपूर्ण र माछापुच्छ्रे हिमाललाई नजिकबाट नियाल्न चाहनेका लागि घान्द्रुक पुग्नै पर्ने ठाउँ हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।