काठमाडौं- उपसभामुख शिवमाया तुम्बाहाङफेले सभामुख चयन प्रक्रियामा आफू बाधक नबन्ने बताएकी छिन् ।
आफू राजीनमा दिन तयार भएको र चयन प्रक्रियामा पनि समर्थन रहने उनको भनाइ छ। ‘सभामुख चयनमा म बाधक छैन,’ नेपाल लाइभसँग उनले भनिन्, ‘म राजीनामा दिन तयार भएर बसेकी छु।’
सभामुख को हुने भन्ने टुङ्गो नहुँदा शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक पाँच दिन पछाडी धकेलिएको छ। संसद् सचिवालयका अनुसार पुस १६ गते बस्ने गरी प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ।
शुक्रबारको बैठक स्थगन हुनुमा आफ्नो कुनै भूमिका नरहेको तुम्बाहाङफेको भनाइ छ।
पूर्व सभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको प्रयास आरोपमा पुर्पक्षका लागि थुनामा गएपछि सभामुख पद रिक्त छ। उक्त पदमा हालसम्म पूर्वसभामुख सुवास नेम्वाङ र अग्नी सापकोटा प्रमुख दावेदारका रुपमा देखिएका छन्।
त्यस्तै उपसभामुख तुम्बाहाङफेको राजीनामा गर्ने गराउने विषयमा पनि सहमति हुन सकेको छैन। सभामुखका लागि तीन प्रतिस्पर्धी भएकाले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कसलाई बनाउने भन्ने सहमति हुन सकेको छैन।
नेम्वाङ प्रधानमन्त्री ओलीका उम्मेदवार हुन् भने सापकोटा अध्यक्ष प्रचण्डका उम्मेदवार हुन्। त्यस्तै उपसभामुख तुम्बाहाङफे राष्ट्रपति विद्यादेवी भण्डारीकी उम्मेदवारका रुपमा देखिएकी छन्। सभामुख र उपसभामुख एउटै लिङ्ग र पार्टीको हुन नहुने संवैधानिक व्यवस्थाले पनि अहिले समस्या भईरहेको छ।
नेकपाले सभामुख आफूले राखेको खण्डमा उपसभामुख अर्को दललाई दिनुपर्ने बाध्यता छ। त्यसका लागि पनि उपयुक्त उम्मेदवार तय गनुपर्ने र व्यापक छलफल हुनुपर्ने भन्दै संसद बैठक सारिएको हो।
यो पनि
नेम्वाङलाई प्रचण्डको ‘इग्नोर’, अग्नि नै हुन् त सभामुखको बलियो उम्मेदवार?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।