जुरिच– पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो अन्तर्राष्ट्रिय फुटबलमा बढी गोल गर्ने खेलाडीको तेस्रो स्थानमा उक्लिएका छन्।
शुक्रबार राति स्विजरल्यान्डको जुरिचमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रोनाल्डोले इजिप्ट विरुद्ध २ गोल गर्दै बढी गोल गर्ने खेलाडीको तेस्रो स्थानमा उक्लिएका हुन्।
खेलमा पोर्चुगलले इजिप्टलाई २–१ गोलले हरायो। अग्रता भने इजिप्टले लिएको थियो। मोहम्मद सलाहले ५६ मिनेटमा गोल गरेर इजिप्टलाई अग्रता दिलाए।९० मिनेटसम्म खेलमा पछि परेको पोर्चुगलका लागि रोनाल्डोले इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल फर्काए। चौथो मिनेटमा रोनाल्डोले दोस्रो गोल गरेपछि पोर्चुगलले रोमाञ्चक जित हात पार्न सफल भयो।
अन्तर्राष्ट्रिय खेलमा बढी गोल गर्ने खेलाडी
अली डाएइ– इरान– १०९ गोल
फेरेन्स पुस्कास – हंगरी– ८४ गोल
क्रिस्टियानो रोनाल्डो– पोर्चुगल– ८१ गोल
कुनिशिगे कामामोटो – जापान– ८० गोल
गडफ्रे चिताउ – जाम्बिया – ७९ गोल
अन्य मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई १–० गोलले पराजित गर्यो। इंग्ल्यान्डको लिंगार्डले ५९ मिनेटमा गोल गरे।
स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेले। खेलको छैटौं मिनेटमा स्पेनका रोद्रिगोले गोल गरेका थिए। तर थोमस मुलरले ३५ मिनेटमा बराबरी गोल फर्काए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।