मुम्बई (एजेन्सी)– भारतीय क्रिकेटका दुई दिग्गज तथा बच्चैदेखिका साथी सचिन तेन्दुलकर र विनोद काम्बलीले ९ वर्ष पुरानो खराब सम्बन्धलाई नयाँ आयाम दिएका छन्। उनीहरूले पुरानो तितो सम्बन्धलाई हटाउँदै ९ वर्षपछि सम्बन्ध सुधार गरेका छन्।
विनोदले सन् २००९ मा ‘सच का सामना’ नामक टेलिभिजन श्रृंखलामा सचिनमाथि एउटा ठूलो आरोप लगाएका थिए। उनले यसका लागि १० लाख रुपैयाँ प्राप्त गरेका थिए। सानै उमेरदेखि सँगै क्रिकेट खेलेर हुर्किएका विनोदले भारतीय क्रिकेट टिममा आफू खराब फर्मबाट गुज्रिदा सचिनले सहयोग नगरेको आरोप लगाएका थिए।
यसपछि सचिनले घरमा हुने कुनै पनि कार्यक्रममा विनोदलाई निम्तो दिन छोडेका थिए। सचिनले क्रिकेटबाट सन्यास लिँदा सबैको नाम सम्झिँदा पनि विनोदको नाम लिएनन्। उनले घरमा दिएको बिदाई पार्टीमा समेत विनोदलाई बोलाएका थिएनन्।
विनोदले पछिल्लो समय सचिनले आफ्नो एसएमएसको पनि जवाफ नदिने गरेको बताएका थिए।
अहिले सचिनकै कारण दुई मित्रको पुर्नमिलन भएको छ। लगभग क्रिकेटबाट हराइसकेका विनोदलाई प्रशिक्षणमा लाग्न सचिनले प्रेरित गरेका थिए। सचिनकै आग्रहमा शिवाजी पार्क टिमले विनोदलाई प्रशिक्षक बनाएको थियो।
मुम्बईमा भइरहेको टि–२० खेलमा बुधबार पुरस्कार समारोहमा विनोदले सचिनको खुट्टा समाते। यो घटनापछि दुई दिग्गजबीचको कटुता समाप्त भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।