केपटाउन– अस्ट्रेलियाली क्रिकेट टिमका उपकप्तान डेभिड वार्नर फेरि एकपटक विवादमा घेरिएका छन्। न्युलेन्ड्स मैदानमा दक्षिण अफ्रिकाविरूद्ध तेस्रो टेस्टको शुक्रबार दोस्रो दिन आउट भएर पेवेलियन फर्किने क्रममा उनी एक क्रिकेट समर्थकसँग बहसमा अल्झिए। पछि विवादमा कागिसो रबाडा पनि समावेश भए।
वार्नरले १४ बलमा ३० रन बनाएका थिए। उनी रबाडाको बलमा आउट भए। आउट हुनुअघि उनले रबाडाको तीन वटा बलमा चौका प्रहार गरेका थिए। यसपछि छक्का र फेरि चौका प्रहार गरेका थिए।
रिपोर्टका अनुसार वार्नर आउट भएर फर्किदै गर्दा एक दर्शकले ताली पिट्दै उनलाई गाली गरेका थिए। जसका कारण वार्नर भड्किएको बताइएको छ। दुबैबीच बहस लम्बिएपछि सुरक्षा अधिकारीले हस्तक्षेप गर्नु परेको थियो।
यसअघि पनि वार्नर र दक्षिण अफ्रिकी विकेटकिपर क्विन्टन डि ककबीच विवाद भएको थियो।
दर्शकले रबाडाको नाम लिँदै वार्नरप्रति तिखो प्रतिक्रिया दिएको बताइएको छ। यसपछि वार्नरलाई रिस उठेको रिपोर्टमा बताइएको छ। पछिल्लो खेलमा वार्नरलाई आउट गरेपछि रबाडालाई आइसिसीले लेभल–१ को आरोप लगाएको थियो। यसका कारण उनको २५ प्रतिशत पारिश्रमिक कट्टा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।