काठमाडौं– नाबालिका छोरी बाबु वा आमा कसले राख्न पाउने भन्नेबारे बालिकाको मनोविज्ञान बुझ्नुपर्ने भन्दै उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बिहीबार यस्तो आदेश जारी गरेको हो। श्रीजया कार्कीले आफ्नी नाबालिका छोरी आफूले राख्न पाउनुपर्ने भन्दै श्रीमान् हरिकृष्ण सुवेदीलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेकी थिइन्। सम्बन्ध बिग्रिएपछि उनीहरु छुट्टाछुट्टै बस्दै आएका छन्।
श्रीजयाले सुरुमा नाबालिका छोरीलाई भेटघाट गर्न पाउनु पर्ने र आफ्नो साथमा राख्न पाउनुपर्ने भन्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेकी थिइन्। अदालतले श्रीजयाकै पक्षमा आदेश दिए पनि उक्त आदेश कार्यान्वयन नभएको भन्दै उनले उच्च अदालत पाटनमा मुद्दा दायर गरेकी थिइन्।
पाटन अदालतका न्यायाधीशद्वय सुवेदी र ओलीको इजलाशले बालिका कोसँग बस्दा बढी खुसी हुन्छ भन्दै बालिकाको मनोविज्ञान बुझ्नुपर्ने भन्दै आदेश जारी गरेको छ।
आदेशमा भनिएको छ, ‘नालिका खुसीलाई आजदेखि पुस १३ गतेसम्म आमा श्रीजया कार्कीको घरमा उनीसँगै राख्ने। यसबीचमा अदालतबाट एकजना महिला सुरक्षाकर्मी सादा पोशाकमा खटाउने। सुरक्षाकर्मीले बालमैत्री वातावरण कायम गरी नाबालिकालाई सुरक्षा दिनुपर्ने छ। नाबालिकाले आमाप्रति देखाउने व्यवहार, आमासँग स्वभाविक र सहज रुपमा घुलमिल हुनसक्ने अवस्थाको समेत विश्लेष्ण गर्न अदालतका एक महिला कर्मचारी र बालमनोविशेषज्ञलाई खटाई पठाउनु।’
यसरी बालमनोविज्ञसमेतको राय आएपछि बल्ल नाबालिका कोसँग बस्दा बढी खुसी र घुलमिल हुन्छु सोही अनरुपको फैसला गर्ने तयारी अदालतको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।