काठमाडौं– वडासचिवबाटै सरकारी कागजात कीर्ते हुने गरेको पाइएको छ।
सरकारी कागजात कीर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले पचरौता नगरपालिका– ४ र ५ का वडासचिव प्रभु पडितलाई पक्राउ गरेपछि सो कुरा बाहिर आएको हो। गत कात्तिक ५ गते बेलुका साढे ७ बजे पचरौतामा एक युवतीलाई पचरौता–५ का १८ वर्षीय जितेन्द्र महतो नुनियाले बलात्कारको प्रयास गरेका थिए।
उनले एक युवतीलाई बाटो छेकी बगैचामा लगेर करणी गर्न लागेका थिए। जबरजस्ती करणी उद्योगको कसुरमा फरार रहेका नुनियालाई बारा प्रहरीले गत मंसिर ५ गते पक्राउ गरेको थियो। पुस १ गतेको जिल्ला अदालतको आदेशले नुनिया पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान भएका छन्।
यस घटनाका अभियुक्त नुनियालाई फाइदा पुग्ने गरी नाबालक भएको बनाउन २०५८ सालमा जन्मेका उनलाई वडासचिव पडितले २०६० सालको जन्मदर्ताको कीर्ते कागजात बनाएको पाइएको प्रहरीले जनाएको छ।
पीडितबाट वडासचिवविरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। सरकारी कागजात कीर्ते कसुरमा वडासचिवविरुद्ध ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।