काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सुरुवाती ३ खेलमा पराजित भएपछि अफगानिस्तानको एकदिवसीय विश्वकप खेल्ने सम्भावना संकटमा परेको थियो। सुपर ६ मा पुगेर विश्वकप छनोटमा यात्रालाई जीवित बनाउन समूह चरणमा अफगानिस्तानले नेपालको जितको कामना गरेको थियो। नेपालले हङकङलाई पराजित गरेपछि अफगानिस्तानले सुपर सिक्सको यात्रा तय गरेको थियो।
अफगानिस्तान पहिलो खेलमा स्टकल्यान्डसँग ७ विकेटले पराजित हुँदा दोस्रो खेलमा जिम्बावेसँग २ रनले हारेको थियो। तेस्रो खेलमा हङकङसँग ३० रनले पराजित हुँनु अफगानिस्तानका लागि पीडदायी क्षण थियो। तर समूह चरणमा अन्तिम खेलमा अफगिनिस्तानले नेपाललाई ६ विकेटले हराउँदै सुपर सिक्स यात्रालाई जीवित राखेको थियो। नेपालले हङकङलाई ५ विकेटले हराएपछि सुपर ६ मा पुगेको अफगानिस्तानले त्यसपछि लगातार तीन खेल जित्दै विश्वकपमा स्थान पक्का गरेको छ।
अफगानिस्तानले शुक्रबार भएको सुपर ६ को अन्तिम खेलमा आयरल्यान्डलाई ५ विकेटले हराउँदै आगामी वर्ष हुने विश्वकप क्रिकेटमा स्थान बनाएको हो।
सुपर ६ मा पुगेको अफगानिस्तानको यात्रामा बिहीबार युएईले आयोजक जिम्बावेलाई हराउनु पनि महत्वपूर्ण बन्यो। युएईको जितसँगै अफगानिस्तानको विश्वकपको छनोटको ढोका खुलेको थियो। जिम्बावेले जितेको अवस्थामा अफगानिस्तान सुपर ६ को अन्तिम खेलअघि बाहिरिने पक्का थियो। यद्यपी युएईले डिएल मेथडमा जिम्बावेमाथि ३ रनको सनसनीपूर्ण जित निकाल्दै अफगानिस्तानको भाग्य खोलिदिएको थियो।
यसरी सुपर सिक्समा नेपालको जितले पुगेको अफगानिस्तान विश्वकपमा युएईको जितले पुग्न सफल भयो।
योसँगै छनोट प्रतियोगिताबाट अफगानिस्तान र वेस्ट इन्डिजले विश्वकपमा स्थान पक्का गरेका छन्। अब भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, इंग्ल्यान्ड,वेस्ट इन्डिज र अफगानिस्तान गरी १० टिमले सन् २०१९ को विश्वकपमा स्थान पक्का गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।