भैरहवा– पूर्वउपराष्ट्रपति परमानन्द झाले भारतसँगको सीमामा भईरहने समस्या स्थानीय स्तरको समझदारीमा सुल्झाउन आग्रह गरेका छन्। सीमा क्षेत्रमा देखिएको समस्याका कारण नेपाली र भारतीय गरी दुवै पक्षलाई नकारात्मक असर परेको भन्दै दुई देशका अधिकारीहरु बसेर समाधान गर्न आग्रह गरेका छन्।
नेपाल–भारत मैत्री समाज भैरहवाले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पूर्व उपराष्ट्रपति झाले भने,‘राजनीतिक र अन्य समस्या केन्द्रीय तहबाट समाधान हुन्छ। तर वारीपारीका साना समस्या दुवै तर्फका संघ–संगठनको सम्बाद र छलफलबाट समाधान गर्नु प्रभावकारी हुन्छ।’
कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष प्रेम लस्करीले सीमा क्षेत्रमा भारतीय पक्षले नेपाली पक्षमाथि कहिलेकाहिँ अप्ठ्यारो पार्ने गरी व्यवहार गर्ने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्न नेपालस्थित भारतीय दूतावासलाई दबाब दिने बताए।
उनले भने, ‘सीमा क्षेत्रमा ओहोरदोहर गर्ने नेपाली वा भारतीय दुबैलाई दुबै पक्षबाट कहिलेकाहि समस्या हुने गरेको छ। हामी भारतीय पक्षको ध्यानकर्षण गराउँदै दूतावासलाई तत्काल दबाब दिनेछौं।’
कार्यक्रममा पुर्वमन्त्री ओमप्रकाश यादव गुलजारीले सीमा आवातजावतका समस्या निराकरण गर्न नेपाल –भारत मैत्री समाजले विशेष पहल गर्नुपर्ने तर्क गरे।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले भारत जाँदा भारतीय सुरक्षाकर्मीले दसगजामा नेपालीहरुमाथि चेकजाँचको नाममा दुव्र्यवहार गर्ने गरेको भन्दैं सो कार्य तत्काल रोक्ने गरी पहल गर्न आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।