नुवाकोट– नेकपा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरुले बिहीबार बिहान नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड गरेका छन्।
आगजनी र तोडफोडबाट क्याम्पसमा लाखौं रुपैया बराबरको भौतिक क्षती भएको बताईएको छ। एमाले निकट अनेरास्ववियु र अखिल क्रान्तिकारीका केही विद्यार्थीहरुको समूहले क्याम्पस प्रमुखको कुर्सी जलाउनुका साथै सिसिटीभी मनिटर, टेबलहरु र झ्यालका सिसाहरु फुटाएको क्याम्पस प्रशासनले जनाएको छ। आगजनी र तोडफोडपछि दुवै विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासन र लेखा शाखामा तालाबन्दीसमेत गरेका छन्।
यस अघि विद्यार्थी संगठनहरुले विभिन्न मागहरु राख्दै क्याम्पस प्रशासनलाई ३ दिने अल्टिमेटम दिएका थिए। तर क्याम्पस प्रमुख नारायणमान डंगोल भने क्याम्पसकै कामको सिलसिलामा काठमाडौंमा छन्। क्याम्पस प्रमुख क्याम्पसमा नरहेको बेला आगजनी गरिनु विद्यार्थीको हकहित भन्दा पनि अरु नै नियतबाट प्रेरित भएको नेविसंघ लगायतका विद्यार्थी संगठनहरुले आरोप लगाएका छन्।
तर आन्दोलित विद्यार्थी संगठनहरुले भने आफ्नो माग प्रति क्याम्पस प्रशासन उदासिन देखिएको र अल्टिमेटम दिएको समय सकिँदा समेत वार्ताको पहल नभएकोले आन्दोलनमा उत्रनु परेको बताएको छ।
स्ववियु निर्वाचन, विद्यार्थी संगठनहरु बीच यस अघि भएका सम्झौता कार्यान्वयन, प्राध्यापकहरुको शैक्षिक प्रमाणपत्र छानबीन तथा अवैधानिक रुपमा नियुक्त भएका प्राध्यापकहरुको खारेजीलगायतको माग राखेर विद्यार्थीहरु आन्दोलनमा उत्रीएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।