काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपास्थित पार्टी कार्यालयमा आजदेखि सुरु भएको छ। तीन तहको निर्वाचनमा भएको हारको समीक्षा र भावि कार्यदिशा तय गर्न बसेको केन्द्रीय समिति बैठकमा कांग्रेस नेता प्रकाशमान सिंहले सुझाव प्रस्ताव पेश गरेका छन्।
उनले सुझाव प्रस्तावमा भनेका छन्, ‘नेपाली कांग्रेसमा भएका सबै प्रकारका कमिकमजोरीलाई हटाई, पार्टीलाई गतिशील एवं सशक्त संगठन, विचार, सिद्धान्त र आदर्शको बाटो हिँडाउँदै सशक्त पार्टी निर्माण गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले गम्भीर भएर छलफल गरी ठोस निर्णयमा पुग्न सक्नुपर्छ।’ नेता सिंहले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सभापित शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जाउँदै छलफलका लागि यस्ता सवाल र सुझाव राखेका छन्ः
(क) सैद्धान्तिक एवं नीतिगत विषय
१. नेपाली कांग्रेसलाई सामान्य सुधार वा टालटुल गर्ने प्रवृत्तिले मात्र इतिहासको त्यो गौरवशाली कांग्रेसलाई पुनःस्थपित गर्न संभव छैन। पार्टीको सदस्यता प्रणालीमा व्यापक परिवर्तन, संगठनलाई मुलुकको नयाँ संविधानले व्यवस्था गरेको प्रशासनिक संरचरना अनुसार संगठित गर्दै पार्टी कतै स्थापना कालिन सिद्धान्त र नीतिबाट विचलित हुन पुग्यो कि?, पार्टीले पछिल्लो काल खण्डमा विशेष गरेर लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधानसभाबाट संविधान निर्माणको चरणसम्म आइपुग्दा आफ्नो मौलिक चरित्र र संस्कार विपरित जनतालाई चित्त दुःखाउने गरी प्रजातन्त्रको मूल्य, राष्ट्रियता र समाजवादको वैचारिक एवं सैद्धान्तिक पक्षमा विचलन वा अपव्याख्या गरेको कारणबाट निर्वाचनमा हाम्रा परंपरागत मतदाता हामीबाट विमुख हुन गएका हुन् कि? पार्टीको वैचारिक मुद्दालाई जनभावना र समयको माग र प्रजातान्त्रिक मूल्यामा आधारित भएर अत्यन्त नै गम्भीर चिन्तन र वहश चलाउँदै सिद्धान्त र विचारमा आवश्यकता अनुसार परिवर्तन, परिमार्जन वा पुनपरिभाषित के गर्न आवश्यक हुन्छ त्यो गर्ने बेला भएको छ भन्ने मलाई लागेको छ। यो विषय निर्वाचन पराजयको समीक्षाको प्राथमिक क्रममा राख्न जरूरी छ।
२. नेपाली कांग्रेस आफ्नो ऐतिहासिक भूमिका, सिद्धान्त, विचार, आदर्श र संस्कारले कांग्रेस भएको हो। यो केवल निर्वाचन आयोगमा गर्दा भएर वा नाम मात्रको कांग्रेस भएर होइन। हामी वामपन्थी भाषमा वा उग्रदक्षिणपन्थी अतिवादमा फस्यौं भने हामी कांग्रेस रहँदैनौं। शान्ति प्रक्रिया र संविधान निर्माण गर्ने क्रममा हामी हाम्रो सिद्धान्त र आदर्श विपरित बामपन्थी भाषमा ढल्कँदै गएको कारणले नेपाली जनता वा मतदाताले कांग्रेसलाई नरूचाएका पो हुन कि? निर्वाचन पराजयको विषयमा समीक्षा गर्न बस्दैगर्दा हाम्रो ध्यान यस तर्फ पनि जानु पर्ने हो कि? म केन्द्रीय समितिका सदस्य एवं पदाधिकारीको ध्यान यस तर्फ गम्भीर रूपमा आकर्षित गर्न चाहन्छु।
३. संविधानसभाबाट संविधान जारी भएपछि हाम्रो तत्कालीन पार्टी सभापतिले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेपछि पार्टीले प्रधानमन्त्री पदमा जित्ने कुनै आधार नहुँदानहुँदै कुन राजनीतिक एवं नैतिकताको धरातलबाट सुशील कोइरालाजीलाई पुनः प्रधानमन्त्री पदमा प्रतिस्पर्धा गराइयो? संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेर जनतामा हाईहाई हुनु भएको तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र नेपाली कांग्रेस, कोइरालाले प्रधानमन्त्री पदमा पुनः प्रतिस्पर्धा गरेपछि प्राप्त त्यो लोकप्रियता कम्युनिस्ट सत्तामा आएपछि सेयर बजार ओरालो लागे जस्तै त्यो घटनाले नेपाली कांग्रेसको लोकप्रियता ह्वात्तै घटेको थियो। कांग्रेस आजको यस दुखद् घडीमा आइपुग्नका लागि यो दुःखदायी घटना नै प्रस्थान विन्दु थियो। संविधान निर्माणमा एमालेसँग भएको राजनीतिक समझदारीलाई परवाह नगरी सुशील कोइरालालाई पुनः प्रधानमन्त्रीमा भिडाउनु कति उचित थियो? त्यस बेला पार्टीलाई दाउमा लगाउने गरी गरिएको यो घटनाका जिम्मेवार को-को थिए र यस घटनाबाट पार्टीलाई कति क्षति हुन गयो? निर्वाचनको समीक्षा गर्न बस्दै गर्दा यो विषय पनि गम्भीर छलफलको विषय हुनु पर्दछ भन्ने मेरो मान्यता छ।
४. हाम्रा नेता वा पार्टी सभापतिले पार्टीको सिद्धान्त र आदर्शलाई परबाह नगरी केवल व्यक्तिगत उग्र–राजनीतिक महत्वकांक्षा र सत्ता केन्द्रित राजनीतिक चरित्र र प्रवृत्तिका कारणबाट पनि पार्टीले आफ्नो सिद्धान्त र आदर्शबाट विचलित हुनुपरेको यथार्थ हाम्रा सामु छर्लंग छ। सभापतिजीले माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँटको सम्झौता र निर्वाचनपछि पनि सत्तामा बसिरहने मनोविज्ञानबाट चितवनमा प्रचण्डको राजनीतिक धरातल बनाइदिन गएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा प्रचण्डपुत्रीलाई मेयरमा जिताउन हाम्रो पार्टी सभापतिले खेलेको भूमिका, नेपाली कांग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्ठा थियो। पार्टी केन्द्रीय कार्यसमितिमा कुनै छलफलसम्म नगरी स्वेच्छाचारी ढंगबाट एक्लैले यति ठूलो आत्मघाती निर्णय गरेको घटनाले देशव्यापी रूपमा स्वाभिमानी कांग्रेसीजनको शीर निहुर्याएको थियो। पार्टी सभापतिजीको सत्ता स्वार्थबाट अभिप्रेरित भएर गरिएको यो सिद्धान्तहीन अराजनीतिक कदमले निर्वाचनमा देशव्यापी रूपमा पार्टीलाई ठूलो क्षति पुगेको थियो भन्ने मेरो ठहर छ।
५. पाँच महिनाको भारतीय नाकाबन्दीलाई खेपेर कथित लोकप्रियताको उचाइमा पुगेको अवस्थामा प्रचण्डजस्तो धोकेबाज नेतासँग भर परेर ओली सरकारलाई असामयिक रूपमा पतन गराउनु र संसद्को तेस्रो दलको हैसियत रहेको माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्नुको कारणले पनि कांग्रेसले आजको दिन व्यहोर्नु परेको यथार्थ हो। हाम्रो नेताले प्रधानमन्त्री पदको हतारो नगरी केही महिना मात्र पर्खिएको भए भारतको चर्को आलोचना मात्र गरेर बनेको ओलीको कथित खोक्रो राष्ट्रवाद जनताका बीच उदांगो हुने थियो। हिन्द महासागरमा पानी जहाज कुदाउनेदेखि, घरघरमा ग्यास पाइपलाइन र काठमाडौंमा मेट्रो कुदाउने काल्पनिक सपनामा आधारित ओलीको लोकप्रियता ध्वस्त हुने निश्चित थियो। हाम्रो पार्टी सभापतिजीले राजनीतिक धैर्यता, सुझबुझ नदेखाएका कारणले त्यही पृष्ठभूमिमा टेकेर एमाले र कथित वाम गठबन्धनले निर्वाचनमा यो सफलता प्राप्त गरिहँदा हामीले यो दुखद् पराजय भोग्नुपरेको यथार्थलाई हामीले भुल्नु हुँदैन।




६. मधेश केन्द्रित दलहरूलाई मनाउने क्रममा नेपाली कांग्रेसले राखेको संविधान संशोधनको प्रस्तावको कि त हामीले औचित्यसिद्ध गर्न सकेनौं वा जनतालाई चित्त बुझाउन नै सकेनौं। कांग्रेसले राखेको संविधान संशोधनको प्रस्तावलाई एमालेले कथित पहाडिया राष्ट्रवाद र विभाजनकारीको सोच देखायो भनेर हामीले आरोप लगायौं तर निर्वाचन परिणामपछि मधेशमा एमाले सफाया हुन्छ भन्ने सोच विपरीत मधेशमा एमालेले सम्मानजनक सिट ल्याउने, कांग्रेसको लज्जाजनक स्थिति र पहाडमा भएको हाम्रो सफायालाई कांग्रेसले कसरी विश्लेषण गर्ने?
७. निर्वाचनमा बागठवन्धनको प्रतिक्रिया स्वरूप, पर्याप्त गृहकार्य र सोच विचार नुपुर्याई लोकतान्त्रिक गठवन्धनको हल्ला मात्र पिटायौं तर यसको निर्वाचनमा कुनै असर देखिएन। पार्टी केन्द्रीय कार्यसमितिबाट सहमतिबिना कुन सिद्धान्त र सोचको आधारमा मधेश केन्द्रित दल, फोरमका उपेन्द्र यादव र राजपाका महन्त ठाकुरलाई हामीले निर्वाचनमा उमेद्वार नै नदिएर गुन लगायौं, यसको बदलामा उनीहरूबाट हामीले के सहयोग पायौं? यसरी निर्वाचनमा हामीले सहयोग गरेका दलले राष्ट्रियसभा, राष्ट्रपति निर्वाचन लगायतमा के कति सहयोग पुर्याए। त्यसैगरी राप्रपासँगको अत्यन्त फितलो सहकार्यले चुनावमा सकारात्मक वा नकारात्मक के-कति सहयोग रह्यो यो सबैको एक मुष्ट जवाफ पार्टी सभापतिले कार्यसमितिको बैठकलाई दिनुपर्छ कि पर्दैन?
८. वीपी कोइराला, सुवर्ण सम्सेर, गणेशमान सिंह, किसुनजीजस्ता महान् राष्ट्रवादी नेताहरूले स्थापना गरेको र उहाँहरूले लामो समयसम्म नेतृत्व गरेको ऐतिहासिक दल नेपाली कांग्रेसले इतिहासमा प्रजातन्त्रका लागि मात्र गौरवशाली भूमिका निर्वाह गरेको थिएन, यो देशको महान् राष्ट्रिय शक्ति पनि हो, राष्ट्रियताको पहरेदार हो। तर, दुर्भाग्य यत्रो राष्ट्रवादी शक्ति नेपाली कांग्रेसले नेपालको संविधानसभाले संविधान जारी गरिसकेपछि त्यसमा असुन्तुष्ट भएर ५ महिनासम्म मानवतावादी भावना र अन्तर्राष्ट्रिय कानुनको मान्यता विपरीत गएर भारत सरकारले नेपालमा आर्थिक नाकाबन्दी लगाएर नेपाली जनतालाई अनाहकमा ठूलो कष्ट दिँदासमेत भारत रिसाएर भोलिको आफ्नो प्रधानमन्त्री पद जोखिममा पर्ला भन्ने मनोविज्ञानबाट नेपाली कांग्रेसले यसलाई नाकाबन्दीसम्म भन्न सकेन, यो कम दुर्भाग्यको कुरा थिएन। नेतृत्वको यो निकम्मापनले नेपाली कांग्रेसको राष्ट्रियतासँगको नाता कमजोर बन्न पुग्यो। नेपाली कांग्रेससँग जनता चरम रूपमा निरास भए। यसको पृष्ठभूमिमा एमाले अध्यक्षले जनताको भावना बमोजिम नाकाबन्दीको डटेर विरोध गरे, यसकै जगमा तथाकथित ओली राष्ट्रवादको नाममा निर्वाचनमा एमालेलाई जिताए भने यसकै पृष्ठभूमिमा कांग्रेसले नराम्रोसँग निर्वाचनमा पराजय भोग्न विवश भयो। निर्वाचन पराजयको समीक्षा गरिरहँदा यो विषय गम्भीर छलफलको विषय बन्नुपर्छ।
९. नेपाली कांग्रेसजस्तो देशको एक मात्र ऐतिहासिक गौरवशाली प्रजातान्त्रिक पार्टीले प्रजातन्त्र र स्वतन्त्र न्याय पद्धतिको विरूद्ध हुने गरी जुन ढङ्गबाट प्रधानन्यायधिशका विरूद्ध व्यर्थसँग महाअभियोग लगाउने कुत्सित प्रयास र सर्वोच्च अदालतको निर्णयको विरूद्ध कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले खेद प्रस्ताव नै पारित गर्नु, यो एक प्रकारले नेपाली कांग्रेसको घोर सैद्धान्तिक विचलन थियो। यसरी पार्टीको आदर्श र सिद्धान्त विपरित अदालतको आन्तरिक मामिलामा फस्नु कांग्रेसको ऐतिहासिक भुल थियो। यसबाट पार्टीको लोकप्रियतामा निकै नै धक्का लागेको विषय निर्वाचन समीक्षाभित्र नै पर्छ।
(ख) कमजोर संगठन
१. नेपाली कांग्रेसको इतिहासमा पार्टीको विधानलाई यसरी निर्ममतवरले स्वयं पार्टी सभापतिले उलंघन गरी स्वेच्छाचारी ढंगले पार्टी सञ्चालन गरेको घटना विगतमा थिएन। वर्तमान पार्टी सभापतिजीले नेपाली कांग्रेसको विधानलाई पूरै बेवास्ता गरेर अप्रजातान्त्रिक एवं अराजक शैलीमा पार्टी सञ्चालन गरिरहनुभएको छ भन्ने मेरो ठहर छ।
२. पार्टीको विधान अनुसार २ महिनाभित्र गठन गरिसक्नुपर्ने उपसभापति र महामन्त्रीसहित केन्द्रीय कार्यसमिति गठन र पार्टी विभागहरू दुई वर्ष बितिसक्दा पनि पूर्णता दिन नसक्नु सभापतिजीको कमजोरी मात्र नभएर सभापतिजीको स्वेच्छाचारिता र अराजकताको चरम् नमूना हो। विधान बमोजिम स्वयं केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमिति, विभाग लगायतलाई गठन एवं पूर्णता दिन नसकेको कारणले केन्द्रले जिल्ला समितिहरूलाई पनि पुर्णता दिने र संगठित बनाउन नसकिरहेको अवस्थामा कतिपय जिल्लाको अवस्था पनि यस्तै छ। यो कारणबाट पार्टी संगठन फितलो भयो, संगठनमा कार्यकर्ता परिचालन नै भएन, जसले गर्दा कांग्रेस अत्यन्त कमजोर बन्न भई यसबाट निर्वाचनलाई समेत निकै नकारात्मक असर पुर्यायो।
३. देश निर्वाचनको मुखैमा आएको अवस्थामा वाध्य भएर मात्र सभापतिजीले विधानको घोर उलंघन गर्दै टिकट वितरण गर्ने निकाय पार्टी संसदीय समिति गठन गर्नु भयो। विधान बमोजिम तत्कालिन अवस्थामा ११ सदस्यीय संसदीय समिति गठन गर्न मिल्थ्यो तर सभापतिले विधानलाई उलंघन गर्दै २४ सदस्यीय समिति गठन गर्नु भयो। विरोधका लागि विरोध गर्नेहरूले त्यस बेला त्यही संसदीय समितिमा बसेर निर्णय प्रक्रियामा सहभागी बन्ने, अहिले आएर विधान विपरित भयो भनेर कुन नैतिकताले विरोध गर्ने? भनेर औंला ठड्याउन सक्छन्। त्यस बेला मैले सभापतिजीको विधान विपरीतका कामकारबाहीको विरोध, प्रतिकार वा बहिष्कार के गर्ने भनेर नसोचेको होइन तर पार्टीको एउटा गम्भीर एवं जिम्मेवार तहमा बसेको सदस्य भएको नाताले निर्वाचनकै मुखमा विरोध गर्दा निर्वाचनमा पर्न सक्ने नकारात्मक असरलाई ध्यानमा राखेर नै त्यसो नगरिएको हो भन्ने कुरा सबैले बुझ्न जरूरी छ। केन्द्रीय समितिका सदस्य एवं पदाधिकारी र आम कार्यकर्ता साथीहरूले सहजै बुझ्न सक्नु हुन्छ कि यसै पनि पार्टी व्यवस्थित र संगठित भएर सशक्तसंग निर्वाचनमा नलागिरहेको अवस्थामा हामीले त्यस बेला प्रतिकार, विरोध वा संसदीय समितिको बैठक बहिष्कार गरेको भए पार्टीको दुरावस्था अझ कस्तो हुन्थ्यो? हामी सहजै अनुमान गर्न सक्छौं। मलाई विश्वास छ, त्यस बेला मेरो मात्र यस्तो मनोवैज्ञानिक अवस्था थियो भन्ने होइन, केन्द्रीय कार्यसमितिका अधिकांश साथीहरूको अवस्था पनि यस्तै थियो भन्ने कुरा मैले महशुस गरेको छु।
४. निर्वाचन अभियानका क्रममा पार्टीको उमेद्वार पार्टीको चिन्ह पाएको निरिह स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेको आम उम्मेदवारले महसुस गरेको मैले पाएको छु। निर्वाचन प्रचारप्रसार र व्यवस्थापन यति कमजोर, फितलो थियो कि कुरा राखेर साध्य छैन। निर्वाचनमा स्टार प्रचारक वा निर्वाचन अभियन्ता नै थिएन भन्दा हुन्छ। पार्टीको स्टार प्रचारक हुनुपर्ने पार्टी सभापतिको अलोकप्रियताका कारण अधिकांश उम्मेदवारले भोट घट्ने मनोविज्ञानबाट भरसक सभापतिलाई आफ्नो निर्वाचन अभियानमा लैजान नरूचाएको कुरा स्वयं उम्मेदवारहरूले बताउनुभएको छ।
५. पार्टीका भातृ संस्थाहरूको निर्वाचनमा कुनै प्रभावकारी उपस्थिति नै रहेन। पार्टी नेतृत्वले अस्वाभाविक हस्तक्षेप गरी कर्मकाण्डी शैलीमा महाधिवेशन गराएकाले पञ्चायतकालका वर्गीय संगठनजस्तो निस्प्रभावी हुन पुगेका छन्। यो विषयलाई पनि निर्वाचन समीक्षाभित्र नै राखेर छलफल गरिनुपर्छ।
६. संविधान जारी भएपछि तत्काल संविधानको प्रावधान अनुसार पार्टी संगठनलाई पुनर्संरचना गरिनुपर्थ्यो। प्रदेश समिति र नयाँ बनेका जिल्ला, निर्वाचन क्षेत्र, नगरपालिका र गाउँपालिकामा पार्टीको तदर्थ नै भए पनि संरचना नबनेको र पुरानो समितिले समन्वय गर्न नसकेको कारणबाट निर्वाचनलाई नराम्रोसँग प्रभावित गरेको छ।
(ग) कमजोर नेतृत्व
१. नेपाली कांग्रेसभित्र कायम रहेको कथित ६०/४० को भागवण्डालाई समाप्त गरेर सबैलाई समेटेर पार्टीलाई एक बनाएर लैजान्छु भन्ने अठोटका साथ १३औं महाधिवेशनबाट पार्टी सभापति बन्नु भएका वर्तमान सभापतिले पार्टी सञ्चालनको यो २ वर्षको अवधिमा पार्टीलाई एकताबद्ध बनाएर संगठित बनाउनुको बदला गुटलाई नै प्रश्रय दिएका कारण पार्टी इतिहासकै सबैभन्दा कमजोर स्थितिमा आएको मुद्दा समीक्षाको विषय बन्ने कि नबन्ने?
२. पार्टीका कार्यकर्तालाई विभिन्न राजनीतिक नियुक्ति र विभिन्न तहमा टिकट वितरण गर्दा वरिष्ठता, योगदान, योग्यता र क्षमता आदिको परबाह नगरी गुटगत आधारमा आफ्ना निकट व्यक्तिलाई बढी अवसर दिएर इमान्दार र योग्यलाई पाखा लगाएको कारणबाट निर्वाचनमा के-कति असर गर्यो भन्ने विषयमा गम्भीर रूपमा विचार विमर्श र अध्ययन गर्न जरूरी छ।
३. तीन तहको निर्वाचन सम्पन्न गर्न खेलेको भूमिका बाहेक सभापति र सभापतिले प्रधानमन्त्रीका हैसियतमा निर्वाह गरेको कार्य सम्पादन र त्यसको शैली र उहाँका अभिव्यक्ति आमजनताबीच व्यापक आलोचनाको विषय बने। जसको कारण पार्टी जनतामा निकै नै अलोकप्रिय बन्न पुग्यो, निर्वाचन पराजयमा यो कारणबाट परेको व्यापक असरप्रति हामी कति गम्भीर छौं?
नेपाल प्रहरीको एक जना डिआइजीलाई बढुवा गरेर प्रहरी महानिरीक्षक बनाउने विषयमा पार्टी सभापतिको जुन ढंगको रवैया रह्यो त्यसले उहाँको मात्र बदनाम भएन, सिंगो पार्टीलाई बदनाम गरेको छ। ०७४ असार महिनाको चौथो साता बाढी पीडित निरीक्षण र राहत वितरण गर्न सप्तरी जिल्ला भ्रमणका क्रममा बाढी पीडितलाई सम्बोधन गर्दा अन्य प्रसंगमा प्रमलाई दिएको ज्ञापनपत्र वाचन गरेको, १८ असार ०७४ मा बिबिसी साझा सवाल कार्यक्रममा प्रधानमन्त्रीका हैसियतमा हाम्रो सभापतिको लज्जास्पद प्रस्तुति, त्यसैगरी प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको वार्षिक साधारण सभामा भाग लिन जाने सिलसिलामा न्युयोर्कमा रहनु भएको बेला कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको वर्ल्ड लिडर फोरममा अत्यन्त फितलो प्रस्तुति आदिले सामाजिक सञ्जालहरूमा व्यापक रूपमा भाइरल भएको र आम मिडियामा पारेको नकारात्मक प्रभाव, लगायतका कार्यबाट प्रधानमन्त्रीको मात्र नभएर प्रधानमन्त्रीका रूपमा नेपाली कांग्रेसको नेताको कार्य कौशलता र क्षमतामाथि आम जनतामा प्रश्न उठ्यो। हाम्रो सभापति र सभापतिले प्रधानमन्त्रीको हैसियतमा गरेका यस्ता अलोकप्रिय कामले पार्टीलाई कति क्षति पुग्न गयो होला हामी सजिलै अनुमान गर्न सक्छौं।
पार्टी सभापतिले एक प्रसंगमा दुई छिमेकी राष्ट्रसँगको संवेदनशील सम्बन्धलाई ख्यालमा नराखी पार्टीले दुई छिमेकी देशसँग अंगिकार गर्दै आएको सन्तुलित परराष्ट्र नीतिको मर्म विपरीत एउटा गैह्रसरकारी संस्थाको निमन्त्रणामा दक्षिण भारतको गोवामा भएको एउटा विवादास्पद कार्यक्रममा सहभागी भएको कारणबाट छिमेकी राष्ट्रसँगको सम्बन्धमा पर्न गएको नकारात्मक असर प्रति पनि कार्यसमितिको ध्यान आकृष्ट गर्न चाहन्छु।
४. नेपालको इतिहासमा नै लोक हँसाउने गरी प्रधानमन्त्रीका हैसियतमा हाम्रो सभापतिले ६४ जनाको मन्त्रिमण्डलको कीर्तिमानी कायम गरेर इतिहासमा नाम लेख्नु भएको छ। सभापतिजीले प्रधानमन्त्रीका हैसियतमा यस्तो गौरवशाली कीर्तिमानी त राख्नु भयो तर यस्तो अत्यन्त अलोकप्रिय कदमले पार्टीले कति क्षति व्यहोर्नुपर्यो? यस विषयमा गम्भीर भएर कहिल्यै सोच्नु भएको छ?
(घ) सुझाव एवं प्रस्ताव
१. नेपाली कांग्रेसको वैचारिक विचलन, विचारको अपव्याख्या भई आज पार्टी सिद्धान्त र विचार अलमलिएको र बाटो बिराएको जस्तो हुन गई आमजनतामा पर्न गएको नकारात्मक प्रभावलाई ध्यानमा राखी यस विषयमा पार्टीले समयोचित बाटो पहिल्याउन र निर्वाचनका क्रममा पार्टीले देशको समग्र आर्थिक प्रगतिका लागि समृद्धिको अभियानमा साथ दिन जनतासँग प्रतिवद्धता गरे मुताविक त्यसको स्पष्ट मार्गचित्रसहितको ठोस एवं विस्तृत स्वरूप तयार गर्न समेत देशभर आम कार्यकर्ताको स्तरसम्म व्यापक बहस, छलफल, गोष्ठी, सेमिनार आदि गरेर उचित बाटो पहिल्याएर ठोस निर्णयमा पुग्न कार्यसमिति बैठकसामु प्रस्ताव गर्छु।
२. नेपाली कांग्रेसको विधानको परिच्छेद–६, धारा ४९ को उपराधारा (१९) बमोविम महाधिवेशन सम्पन्न भएको मितिले दुई महिनाभित्र पार्टीको विभाग, केन्द्रीय प्रतिष्ठान लगायत पार्टी समिति गठन भइसक्नुपर्नेमा दुई वर्ष बितिसक्दा पनि सभापतिले यसो गर्नेतर्फ कुनै चासो नदेखाएको, स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर पार्टीका सबै विभाग र समितिहरूको गठन र परिचालन, संविधान जारी भएपछि प्रदेशस्तर समिति र नयाँ गठन भएका जिल्ला, गाउँपालिका र नगरपालिकामा पार्टीको निकाय गठन नभएको अवस्थामा निर्वाचनमा पार्टीले पराजय भोगेर हामी त्यसको समीक्षा गर्न बसिरहेको अवस्थामा अब पार्टी केन्द्रीय समितिमा पदाधिकारीको प्रस्ताव र अनुमोदन, विभागहरूको गठन लगायतका समितिहरूको गठनको औचित्य राजनीतिक रूपले समाप्त भइरहेको छ भने, दुई महिनाभित्र सभापतिले कार्यसमितिमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम विधानअनुसार प्रस्ताव गर्नुपर्नेमा त्यसो नगरेकाले विधानतः पनि अब यसो गर्नु औचित्य छैन भन्ने मेरो ठहर छ। अतः जिल्ला सभापतिहरूको माग बमोजिम जिल्ला सभापतिहरूको राष्ट्रिय सम्मेलन समेत बोलाई त्यसको सुझावलाई समेत समेटेर यथाशीघ्र महासमितिको बैठक बोलाई पार्टीको विधानलाई आवश्यकता अनुसार संशोधन एवं परिमार्जन गरी सोही संशोधित विधानको शीघ्र कार्यान्वयन गर्दै महाधिवेशन सम्पन्न गर्न उपयुक्त ठान्छु।
३. नेपालको संविधानले देशलाई संघीयतामा लगिसकेको, प्रदेशसभाको समेत निर्वाचन भई देश संघीयता कार्यान्वयनको बाटोमा अगाडि बढिसकेको अवस्थामा पार्टीले अझै पनि प्रदेश संरचनाको विकास नगरेको कारणबाट पार्टीलाई परेको नकारात्मक असरलाई समेत मध्यनजर राख्दै पार्टीको विधानमा प्रदेश कार्यसमितिको व्यवस्था गर्न र विधानमा अन्य आवश्यक परिमार्जन र संशोधन समेत गर्न यो कार्यसमितिले विधान परिमार्जन एवं संशोधन मस्यौदा समिति गठन गरोस् भनी प्रस्ताव पेश गर्छु।
४. प्रत्येक एक वर्षमा बस्नुपर्ने महासमिति बैठक दुई वर्षमा एक पटक पनि बस्न सकेको छैन। पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई थप विकसित र उन्नत बनाउन, पार्टीको विधान संशोधन एवं परिमार्जन गर्न र पार्टी निर्वाचनमा नराम्रोसँग पराजय भएपछि आम कार्यकर्ता एवं शुभेच्छुकमा पर्न गएको व्यापक असन्तुष्टि र निराशालाई चिरेर पार्टीलाई गतिशील बनाउन शीघ्र पार्टीको महासमिति बैठक बोलाउन यो कार्यसमितिको बैठक समक्ष जोडदारसँग प्रस्ताव गर्छु।
५. देशको दुई छिमेकी राष्ट्रसँगको संवेदनशील सम्बन्ध, सार्वभौमिकता, राष्ट्रिय स्वार्थ र नेपाली कांग्रेसले विगतदेखि अख्तियार गर्दै आएको सन्तुलित परराष्ट्र नीतिको मर्म बमोजिम हिँड्न कार्यसमितिको बैठकका माग गर्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।