काठमाडौं– बुधबार गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह ढकालले कानुनी रुपमा सम्बन्ध विच्छेद गरे। खबर सनसनी भयो।
केही समययता लालिगुराँस सहकारीसँगको ऋणसम्बन्धि मुद्दाका कारण तनावमा रहेको यो दम्पत्तीको डिभोर्स खबरपछि सोसियल मिडियामा अनेक टीका–टिप्पणी सुरु भए।
धेरैले रामकृष्ण आर्थिक रुपमा संकटमा परेपछि निलम सम्बन्धविच्छेदको निर्णयमा पुगेको अनुमान लगाए। यसरी सामाजिक संजालमा लगातार पत्नी निलममाथि प्रहार हुन थालेपछि गायक ढकाललाई यो असह्य भइरहेको छ।
उनी निलमसँगको आफ्नो गहिरो प्रेम र सम्बन्ध स्थापित गराउन सामाजिक संजालमा निरन्तर स्टाटस लेखिरहेका छन्।
बुधबारमात्रै पत्नी निलमसँगको सेल्फी तस्बिर पोस्ट गर्दैै उनले फेसबुकमा लेखेका थिए, ‘अरुले जेसुकै भनुन्, हाम्रो बन्धन कहिल्यै मर्दैन।’

यो स्टाटस आएपछि पनि ढकालकी पत्नी निलममाथि नकरात्मक टिप्पणीको क्रम रोकिएन। त्यसपछि बिहिबार दिउँसो ढकालले पुनः अर्को लामो स्टाटस लेखेका छन् पत्नी निलमको समर्थनमा।
‘हिजोदेखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाई मेरा आलोचक र प्रशंसक कति रहेछन भन्ने कुराको आभाष भएको छ,’ सम्पुर्ण दर्शक/श्रोताप्रति कृतज्ञता प्रकट गर्दै उनले लेखेका छन्, ‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन्। त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेषगरि मेरी श्रीमती निलमलाई जोडेर एक महिलाप्रतिको न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित र भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्दछु।’
उनले थप लेखेका छन्, ‘सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ–आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाई कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नुपर्ने विषय हो।’
आफू आज जे छु त्यो सबै दर्शक/श्रोताका कारण भएको बताउँदै उनले भनेका छन्, ‘तर नेपाली गीत संगीत क्षेत्रमा मलाई अनवरत रुपमा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन्। हामी सँधैझैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन। आशा छ, तपाईहरुको माया रहिरहने छ।’

यो स्टाटससँगै ढकालले पत्नीसँगको ‘ह्याप्पी मुड’को तस्बिर समेत सेयर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।