काठमाडौं– जिम्बावेले ३५ वर्षपछि एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता गुमाउने भएको छ। सन् १९८३ को विश्वकप देखि लगातार खेल्दै आएको जिम्बावे सन् २०१९ को विश्वकपको छनोटबाट बाहिरिन औपचारिकता मात्र बाँकी छ।
शुक्रबार अफगानिस्तान र आयरल्यान्ड बीचको खेलमा जित हात पार्ने एक टिम विश्वकपमा छनोट हुँदा आयोजक जिम्बावे प्रतियोगिताबाट बाहिने छ। यदि खेलको नजिता नआएमा वा बराबरी भएमा भने जिम्बावेको भाग्य खुल्न सक्छ। तर यो समिकरण पूरा हुन कठिन छ।
३५ वर्षपछि जिम्बावे विश्वकपमा छनोट हुन नसक्नुको कारण एसोसिएट टिम युएईसँग डिएल मेथडमा ३ रनले पराजित हुनु हो। जारी छनोट प्रतियोगिताको सुपर ६ को आफ्नो अन्तिम खेलमा जिम्बावे पराजित भएको हो। जित हात पारेको भए जिम्बावे विश्वकप छनोटमा हुँदा अन्य टिम बाहिरिने पक्का थियो।

अर्कोतर्फ जिम्बावेका लागि वर्षा पनि बाधक बन्यो। पहिले ब्याटिङ गरेको युएईले २ सय ३५ रन जोडेको थियो। २ सय ३६ रनको लक्ष्य पछ्याएको जिम्बावेले ४० ओभरमा ७ विकेटको क्षतिमा २ सय २६ रन बनाउँदा खेल वर्षाले रोकियो। त्यससँगै जिम्वाबे विश्वकप खेल्ने अभियान पनि सकियो।
विश्वकपमा छनोट हुन नसकेपछि जिम्बावेका कप्तान ग्रिम क्रेमरले पीडादायी क्षण भएको बताएका छन्। 'एकदमै पीडा भएको छ। हामी विश्वकप नजिक पुगिसकेका थियौं,' उनले भने, 'हामी विश्वकपमा खेल्न भोका थियौ। हाम्रो हातमा बल पनि थियो । तर हामीले आफ्नो अभियान पूरा गर्न सकेनौ। खेलाडीसँगै जनता निराश भएका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।