नेपालगन्ज- कानुन व्यवसायीहरुको छाता संगठन बार एसोसिएसनको १४औं राष्ट्रिय सम्मेलन आजदेखि नेपालगन्जमा सुरु भएको छ।
‘स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिकाप्रति प्रतिबद्धता, कानुन व्यवसायीको पेसागत दक्षता एवं सुनिश्चितता’ भन्ने नाराका साथ सुरु हुन लागेको सम्मेलनमा देशभरका कानुन व्यवसायीहरु नेपालगन्ज आएका छन्। यो सम्मेलनमा करिब ३ हजार कानुन व्यवसायीको सहभागिता रहनेछ।
तीनदिने सम्मेलनमा १० वटा विषयमा प्यानल बनाएर छलफल गरी नेपालगन्ज घोषणापत्र जारी गरिनेछ। कानुन व्यवसायलाई आत्मनिर्भर, व्यावसायिक, दक्ष र मर्यादित एवं विश्वसनीय कसरी बनाउने, स्वतन्त्र न्यायपालिकाभित्र र बाहिर संवैधानिक संस्थाले गर्ने आक्रमणबाट न्यायपालिकालाई कसरी जोगाउने लगायत विषयमा छलफल हुनेछ।
सम्मेलनमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाका बिषयमा गहन छलफल हुने छ। पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनको चर्चा चलिरहँदा सम्मेलनमा बारले स्वतन्त्र न्यायपालिकाको मुद्दालाई प्राथमिकता दिएको हो।
सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। सम्मेलनमा सहभागी हुन कामु प्रधानन्यायाधीश दीपकराज जोशी, महान्यायाधिवक्ता अग्निप्रसाद खरेल नेपालगन्ज आइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।