काठमाडौं- गोकर्ण रिसोर्टलाई लिज अवधि नसकिँदै अवधि बढाइएको प्रति राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सदस्यहरूले प्रश्न उठाएका छन्। नेपाल ट्रष्टका अध्यक्ष तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग कांग्रेस सांसदहरूले जवाफ मागेका हुन्।
राधेश्याम अधिकारी- काठमाडौंमा खुला ठाउँ अभाव छ। राजदरबारले दिएको लिजलाई समयावधि नसकिँदै दिनु ठीक भएन। अझै पनि सरकारले सच्च्याउन सक्छ। २०७४ सालमा नेपाल ट्रस्टको जग्गा दिइएको भनिएको छ। त्यस समय यस प्रकारको ऐन नै थिएन। स्वास्थ्य संस्था र शैक्षिक संस्थालाई मात्रै दिन सकिने व्यवस्था थियो। ऐनमै नभएको व्यवस्था अनुसार कसरि नेपाल ट्रस्टको जग्गा दिइयो?
रक्षामन्त्री पोखरेल- वातावरणीय प्रभाव मूल्यांकन गरेर लिजमा दिइएको हो। वातावरण नबिगार्ने सर्तमा लिजमा दिइएको हो। २०७४ सालमा हामी सरकारमा थिएनौं। उक्त विषयमा अख्तियारमा उजुरी समेत परेको थियो। उजुरी परेकाहरूलाई अख्तियारले क्लिन चिट दिएको छ।
अनिता देवकोटा- ट्रस्टको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था हटाएर किन रक्षामन्त्री हुने व्यवस्था गरियो?
रक्षामन्त्री पोखरेल- गृहमन्त्रीको ठाउँमा रक्षामन्त्री हुनुमा कुनै स्वार्थ छैन। प्रधानमन्त्रीले तोकेको मन्त्री अध्यक्ष हुने व्यवस्था छ। यसमा कुनै तारतम्य छैन।
सरिता प्रसाई- लिज नसकिँदै जग्गा लिजमा दिनु किन पर्यो?
रक्षामन्त्री पोखरेल- अर्को एकपटक लिज अवधि थप्ने व्यवस्था भएकाले लिज दिइएको हो। बजार मूल्य अनुसारको प्रस्ताव गर्छ भनी बढाउन सक्ने व्यवस्था ऐनमा छ। व्यवसाय गर्नका लागि लिजमा दिइएको हो। लिज लिइरहेको पार्टीले अर्को एकपटको लागि लगानी गर्छु भनि लगानी गर्नको लागि सुनिश्चिता खोजेको अवस्थामा दिन सकिन्छ।
बद्री पाण्डेय- नेपाल ट्रस्टको कार्यालय रहेको दरबार मार्गको जग्गा लिजमा दिइएको बारेमा बताइएन। पाण्डेयको प्रश्नमा पोखरेलले कुनै जवाफ दिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।