काठमाडौं– नयाँ सभामुख छान्ने प्रक्रियाका लागि प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ। सभामुख पदका एक प्रत्यासी सुवास नेम्वाङले नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न केही दिनदेखि लगातार कोशिस गरिरहेका छन्। तर, उनको प्रयास सफल नभएको प्रचण्ड सचिवालय स्रोतले जनाएको छ।
प्रचण्ड सचिवालय स्रोतका अनुसार प्रचण्ड चितवन जानु अघिल्लो दिन मंगलबार अबेरसम्म नेकपा संसदीय दलका उपनेता नेम्वाङले भेट्ने प्रयास गरेका थिए। प्रचण्ड बुधबार चितवन जाने र बिहीबार हात्तिपोलोको कार्यक्रममा समेत सहभागी भएर अबेर फर्किने जानकारी भएपछि उनले भेट्न खोजेका थिए। तर, प्रचण्डले व्यस्तता देखाएर उनलाई नेभेटी चितवन गए।
नयाँ सभामुख छान्ने मिति सम्मुख आइपुग्दासम्म पनि प्रचण्डले नेम्वाङलाई भेट्ने समय नदिएपछि पूर्व माओवादी निकट नेताहरु सम्भावित सभामुखको बलियो उम्मेदवारका रुपमा अग्नि सापकोटा रहेको बताउँछन्।
आरोप–प्रत्यारोप बढ्दो
संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले सभामुख सम्हाल्ने रुची देखाएमा पूर्व माओवादी पक्षले उक्त पदमा दाबी नगर्ने पूर्व एमालेका नेताहरुलाई लागेको थियो। त्यसैले नेम्वाङले दाबी गरेपछि अरु कसैले पनि त्यसका लागि रहर गरेनन्।
तर, पूर्वमाओवादी पक्ष भने उक्त पद छाड्नै नहुने पक्षमा देखियो। नेम्वाङ नै बलियो प्रतिस्पर्धीका रुपमा देखिएपछि आन्तरिक बैठकमा उनीमाथि केही आरोप समेत लगाइने गरेको एक नेताले बताए। पूर्वमाओवादीबाट सभामुखको आकांक्षी समेत रहेका नेताहरुमध्ये एकले भनेको कुरालाई उद्धृत गर्दै ती नेताले भने, ‘नेम्वाङ अमेरिकी एजेन्ट हो। कृष्णबहादुर महरालाई समेत उसैले फसाएको हो। हामीले उसैलाई यो पद छाड्नुहुन्न।’
सापकोटा सभामुखको बलियो उम्मेदवारका रुपमा देखा परेपछि पूर्व एमाले उनलाई समेत आरोप लगाउन थालेका छन्। उनीमाथि ज्यान मुद्दा आरोप समेत रहेको भन्दै सभामुख बनाउँदा ‘पार्टी बदनाम’ हुने बताउन थालेका छन्। नेकपाका एक नेताको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अग्निमाथि केही संदिग्ध आरोप लागेका छन्। उनलाई सभामुख बनाएपछि मिडियाले त्यसलाई उछालेर पार्टीलाई बदनाम बनाउनेछन्।’
उपसभामुख तुम्बाहाङ्फेको सम्भावना कमजोर
सभामुख पदकै दाबी गरेर अन्तिम समयसम्म राजिनामा नदिई बसेकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेको सम्भावना भने कमजोर देखिएको छ। सभामुखको विषयलाई लिएर पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डसँग उनले अन्तिम समयसम्म छलफल गर्न पाएकी छैनन्। बरु अध्यक्षद्वयले निकटस्थमार्फत् मैदान खाली गर्दा उपयुक्त हुने सन्देश दिएका छन्। यसकारण उनी सभामुख बन्ने सम्भावना कमजोर हुँदै गएको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकअघि राजिनामा दिने उनको तयारी छ। राजीनामा दिनैपर्ने भएकाले शुक्रबार नकुरेर बिहीबारै मैदान खाली गर्न पार्टी नेताहरुले सुझाएका छन्।
दुवै अध्यक्ष निकटस्थसँग मौन
सभामुख आफ्नै पार्टीको बनाउनुपर्ने कुरामा दुबै अध्यक्षका बीचमा सहमति भए पनि कसलाई बनाउने भन्ने विषयमा भने अध्यक्षद्वय नै आफू निकट नेतासँग मौन छन्। उनीहरुले गरेको लबिङ सुन्ने र दिएका तर्कसँग सहमत हुने तर प्रतिक्रिया भने नदिने नीति दुवै अध्यक्षले लिएका छन्। यसले दुवै अध्यक्षबीच मोटामोटी सहमति भइसकेको कति नेताहरुले बुझेका छन्। कोही भने अन्तिम समयमा उपयुक्त पात्र अघि सार्ने रणनीति लिएर माहोल बुझिरहेको बताउँछन्।
प्रधानमन्त्रीका विश्वासिला नेम्वाङ, प्रचण्डका प्रिय अग्नि
सभामुखका दुवै प्रत्यासी अध्यक्षद्वयका निकटस्थ मात्रै होइन, प्रिय पात्र हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्रका रुपमा संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङलाई लिने गरिन्छ। त्यसैले उनैलाई संसदीय दलको उपनेताका जिम्मेवारी समेत दिएका हुन्। अहिले संसदको जिम्मेवारी दिएर आफूलाई शक्तिशाली बनाउने उनको स्वभाविक चाहना छ।
अग्नि प्रचण्डनिकट र विश्वासयोग्य नेता पनि हुन्। लामो समयदेखि नै अग्नि अध्यक्ष दाहालका प्रिय नेता हुन्। कृष्णबहादुर महरा थुनामा गएपछि राजनीतिक सल्लाह लगायत अन्य धेरै काम प्रचण्डले सापकोटाकै सहयोगमा गर्ने गरेका छन्। राजनीतिक तनाव हुँदा प्रचण्ड सापकोटासँगै सपरिवार ‘सुकुटे बिच’ पुग्ने गरेका छन्। यसले पनि दुईबीचको निकटता झल्किन्छ।
यता नेम्वाङ प्रधानमन्त्री ओलीको पहिलो रोजाइका व्यक्ति हुन्। पहिला पनि सभामुखको भूमिका कुशलताका साथ निभाएकाले उनलाई जिम्मा दिनुपर्ने सोचमा ओली छन्। तर विगतमा दाहालसँग गरेको सहमतिमा उनी पछि हट्न समस्यामा परेको देखिन्छ।
एमसिसी सम्झौता लगायत विविध विवादित विधेयक प्रतिपक्षको विरोधका बीचमा पारित गराउनुपर्ने भएकाले अनुभवी व्यक्ति आवश्यक हुने ओलीको बुझाइ छ।
शुक्रबारबाट चुनावी प्रक्रिया
प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ। बिहीबार उपसभामुख तुम्बाहाङ्फेले राजीनामा बुझाउने तयारी गरेकी छन्। त्यसपछि शुक्रबारको बैठक सञ्चालन र सभामुख चयन प्रक्रियाबारे निर्णय गर्न ज्येष्ठ सदस्यको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। संसद्का ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखको निर्वाचन कार्यतालिका अनुसार प्रक्रिया अघि बढाउने संसद् सचिवालयको तयारी छ।
उपसभामुख कसलाई ?
संविधानको धारा ९१ को उपधारा ९२०को १ बमोजिम प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्छ। त्यस्तै, फरक दलको पनि हुनुपर्ने उल्लेख छ। सभामुख र उपसभामुख दुवै लिन नमिल्ने भएपछि राष्ट्रिय जनता पार्टी वा राष्ट्रिय जनमोर्चालाई उपसभामुख दिने नेकपाको तयारी छ।
समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपालाई नजिक ल्याउन उपभामुख दिने तयारी गरिएको जनाइएको छ। नेकपा र राजपाबीच राष्ट्रियसभामा प्रदेश २ को चार सिटका लागि तालमेल पनि भएको छ। दुई पार्टीबीच भएको सहमतिको दोस्रो बुँदामा अन्य विषयमा समेत सहकार्य हुने उल्लेख भएकाले उपसभामुखमा पनि तालमेलको सम्भावना बढेको हो।
त्यस्तै, पहिलेदेखि तालमेल गर्दै आएको राजमोले उपभामुखका लागि लबिङ गर्दै आएको छ। राजमोले दुर्गा पौडेललाई अघि सारेको छ। नेकपाका हरेक कदमलाई राजमोले स्वागत गर्दै पनि आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।