काठमाडौँ- नेपाल शिक्षक संघले राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग राखेको छ।
चैत १ देखि ३ गतेसम्म काठमाडौँमा भएको आठौँ संघीय महाविधेशनबाट निर्वाचित कार्यसमितिले आज पत्रकार सम्मेलन आयोजना गरी शिक्षामा अपुग बजेट भएकाले २५ प्रतिशत बजेट विनियोजन गर्न माग गरेको हो।
महाधिवेशनले शैक्षिक सवालमा २३ र पेसागत सवालमा १९ माग प्रस्तुत गरेको छ। संघले शिक्षकको सहुलियत स्वास्थ्य उपचारका लागि शिक्षक अस्पताल निर्माण गर्नुपर्ने, शिक्षा ऐन–२०२८ को आठौँ संशोधनले ट्रेड युनियन अधिकार कुण्ठित गर्न खोजेकाले सो प्रावधान खारेज गर्नुपर्ने, असमान दरबन्दी वितरणलाई व्यवस्थित गरी शिक्षकको राष्ट्रिय दरबन्दी मिलान गर्नुपर्नेलगायतका माग गरेको छ।
यसैगरी दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई दुर्गम भत्ता र पोशाक भत्ता निजामती कर्मचारीअनुसार दिनुपर्ने, संवैधानिक शिक्षक सेवा आयोग र उच्चस्तरीय शिक्षा आयोग गठन गर्नुपर्ने, विद्यालय शान्ति क्षेत्र घोषणालाई पूर्ण कार्यान्वयन गराउनुपर्ने, शिक्षा क्षेत्रमा गरिने राजनीतिक नियुक्ति शिक्षकबाट गरिनुपर्ने, माध्यामिक तहसम्म शिक्षा अनिवार्य र निःशुल्क गर्नका लागि राज्यले जिम्मा लिनुपर्ने लगायतका माग रहेका छन्।
महाधिवेशनले राजेन्द्रराज पौडेलको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा एमपी भुसाल, महिला उपाध्यक्षमा पद्यीनी थापा, उपाध्यक्षहरुमा तिलकबहादुर कटुवाल, गंगाप्रसाद यादव, प्रेमप्रसाद भट्टराई, भरतप्रसाद लम्साल, अमरबहादुर खड्का, जनकबहादुर सिंह र लक्ष्मणदत्त भट्ट रहेका छन्।
यसैगरी महासचिवमा सोमनाथ गिरी, महासचिव अर्थ पुष्पकला भट्टराई र उपमहासचिवमा सुन्दर पन्त निर्वाचित भएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।