काठमाडौं- बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले बिहीबार बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकन गराउने भएको छ।
सर्वसाधारण मानिसमा वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भाव गर्न सहयोग गर्ने उद्देश्यले प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकनको व्यवस्था गरिएको समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिए।
समितिको कार्यालय कीर्तिपुरमा टेलिस्कोपमा सोलार फिल्टर जडान गरी सुरक्षित तरिकाबाट अवलोकनको व्यवस्था गरिएको उनले सुनाए। यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट सूर्यग्रहण अवलोकनको व्यवस्था मिलाएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
समितिले नेपालका तीन स्थानबाट देखिने खण्डग्रास सूर्यग्रहणसम्बन्धी तथ्यसमेत सार्वजनिक गरेको छ। काठमाडौँ, महेन्द्रनगर र भद्रपुरबाट देखिने सूर्यग्रहणको वैज्ञानिक रुपमा गणितीय गणनाअनुरुप शुद्ध तथ्याङ्क निकाली जनमानसमा जानकारी गराएको हो।
जसअनुसार काठमाडौँमा ०८:४३, महेन्द्रनगरमा ०८:३८ र भद्रपुरमा ०८:४८ मा ग्रहण सुरु हुनेछ। यसैगरी ग्रहणको मध्य पनि काठमाडौँमा १०:०१, महेन्द्रनगरमा ०९:५२ र भद्रपुरमा ०९:५९ मा हुनेछ। ग्रहणको अन्त्य काठमाडौँमा ११:३३, महेन्द्रनगरमा ११:१९ र भद्रपुरमा ११:२७ मा हुने समितिले जनाएको छ।
यसैगरी ग्रहण अवधि काठमाडौंमा दुई घण्टा ५० मिनेट, महेन्द्रनगरमा दुई घण्टा ४३ मिनेट र भद्रपुरमा दुई घण्टा ५३ मिनेटसम्म रहनेछ। यसैगरी सूर्यग्रहणको दिप्तीक्रम काठमाडौँमा ०.५०१, महेन्द्रनगरमा ०.५११ र ०.४७४ हुनेछ। ग्रहण प्रतिशत भने काठमाडौँ र महेन्द्रनगरमा ३९ एवं भद्रपुरमा ३६ रहने जनाइएको छ।
यसपटकको सूर्यग्रहण नेपालबाट बिरल छायाँ र खण्डग्रासमात्र देखिनेछ। पृथ्वीको केही भागको करिब १ सय किमिको ब्याण्डबाट बलायाकार वा रिङ ग्रहण अवलोकन गर्न सकिने छ। चन्द्रमाको छायाँको व्यास सूर्यको भन्दा सानो भएकाले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि रिङजस्तो देखिने निमित्त कार्यकारी निर्देशक शर्माले जानकारी गराए। यस्तो अवस्थालाई ‘रिङ अफ फायर’ भनिन्छ।
साउदी अरबबाट ‘रिङ अफ फायर’ देखिन सुरु हुन्छ। कतार, युएइ, ओमान, दक्षिण भारत, उत्तरी श्रीलङ्का, बङ्गालको खाडी, मलेसिया, इण्डोनेसिया, सिङ्गापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुनेछ। बिरल छायाँ भने पूर्वी युरोपको केही भाग, एशियाको अधिकांश भाग र अष्ट्रेलियाको उत्तरी भागबाट देख्न सकिने समितिको अध्ययनले देखाएको छ।
यसैगरी बलायाकार सूर्यग्रहण काठमाडौँबाट देखिने छैन। यहाँबाट खण्डग्रास सूर्यग्रहणमात्र अवलोकन गर्न सकिनेछ। सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्छ। सूर्यको प्रकाश चन्द्रमाले छेक्दा पृथ्वीमा पर्ने छायाँलाई नै सूर्यग्रहण भनिन्छ। पूरै सूर्य ढाक्ने गरी अर्थात् खग्रास सूर्यग्रहण पृथ्वीको एक स्थानमा ३ सय ७५ वर्षको अन्तरमा मात्र लाग्ने समितिले जनाएको छ। पृथ्वीबाट सूर्य लगभग १५ करोड किमि टाढा छ। सूर्यको व्यास पृथ्वीभन्दा १ सय ९ गुणा ठूलो छ। चन्द्रमाको व्यास पृथ्वीको एक चौथाइमात्र छ।
सूर्यग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर अवलोकन गर्नु नहुने समितिको ठहर छ। यसरी हेरेमा आँखा सदाका लागि बिग्रने सम्भावना हुन्छ। एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिविम्बलाई अवलोकन गर्नुहुँदैन। हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चस्माबाट मात्र ग्रहण अवलोकन गर्न सकिने कार्यकारी निर्देशक शर्माले जानकारी दिएका छन्। साधारण चस्माको प्रयोग गरेर समेत ग्रहण नहेर्न पनि उनले आह्वान गरे।
सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधार प्राप्त नभएको समितिले जनाएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने शास्त्रीय विश्लेषणअनुसार चार प्रहर अर्थात् १२ घण्टा अघिदेखि नै ग्रहणको सुतक लाग्ने जनाएको छ।
जसअनुसार बुधबार बेलुकी ८:४३ बजेदेखि नै बालक, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेधको शास्त्रीय वचन रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ।
ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ। ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णय सिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।