राजविराज– सप्तरीको राजगढ गाउँपालिका कार्यालयमा बुधबार तालाबन्दी भएको छ। गाउँपालिका अध्यक्ष तथा कार्यपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ३ वडाध्यक्षको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरिएको हो।
राजगढ २ का ललितनारायण सिंह, ४ का हेमनारायण साह र ६ का वडाध्यक्ष कमलदेव यादवको नेतृत्वमा वडा नम्बर ३ नर्घोस्थित कार्यालयमा तालाबन्दी गरिएको हो। गाउँपालिकाअन्तर्गत भईरहेका अधिकांश क्रियाकलाप नियमविपरीत गरिएको र विकास निर्माणका काममा समेत काखापाखा गरिएपछि ताला लगाइएको वडा नम्बर ६ का अध्यक्ष यादवले बताए।
‘जनप्रतिनिधिका लागि सबै वडावासी बराबर हुन्, तर पार्टीगत पूर्वाग्रह राखेर काम भए,’ उनले भने, ‘नियमविपरीत भएका काम नियमन गरौं भनेर पनि हामीले पटक–पटक आग्रह गर्यौं, तर सुनुवाइ भएन।’
गाउँपालिका अध्यक्ष परमानन्द यादवले लिखित आग्रह समेतलाई बेवास्ता गरेपछि आफूहरू बाध्य भएर तालाबन्दीको निर्णयमा पुगेको उनको भनाइ छ। गाउँपालिका अध्यक्ष यादव नेपाली कांग्रेसवाट निर्वाचित हुन् भने वडा नम्बर २ का सिंह समाजवादी पार्टी, ४ का साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र ६ का वडाध्यक्ष यादव राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट निर्वाचित हुन्।
‘लिखित आग्रह तथा बोर्ड बैठकसमेतमा हामीले असन्तुष्टि जनायौं। कुरा सुन्नै तयार नभएपछि गत पुस २ गते १४ बुँदे ज्ञापनपत्र पनि बुझाएका छौं,’ वडा नं. ४ का अध्यक्ष हेमनारायण साहले भने, ‘विकल्प नै बाँकी नराखेपछि आफना कुरा जनतासमक्ष ल्याउन पनि तालाबन्दी गर्नु पर्यो।’
तीन जना वडाध्यक्षहरूले संयुक्त रुपमा गाउँपालिकामा बुझाएको ज्ञापनपत्रमा गाउँपालिकाका सबै वडाध्यक्षलाई समान व्यवहार नगरेको, कार्यपालिका बैठकको जानकारी समयमा नदिएको, बैठकको निर्णय समयमा सार्वजनिक नगरेको, कार्यपालिकाको बैठक पार्टीको बैठकसरह बनाएको लगायत उल्लेख छ।
यसैगरी, विभिन्न चरणमा आय–व्यय विवरण पास गर्नुपर्ने नियमविपरीत आफूखुसी गरेको, कर्मचारीको तलबभत्ता वितरणमा विभेद गरेको, जथाभावी औषधी खरिद गरी हिनामिना गरेको, विकास निर्माणका काम गर्दा वडाध्यक्ष लगायतका स्थानीय जनप्रतिनिधि समेतलाई जानकारी नदिई आफूखुसी समिति गठन गरेको ज्ञापन पत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।