राजविराज– सप्तरीमा सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिकास्थित वीरेन्द्र बजारमा भएको दुर्घटनामा दुई जना र सुरुङ्गा नगरपालिकामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो।
मंगलबार राति करिब १० बजे वीरेन्द्र बजारमा स१०प ८२५ नम्बरको मोटरसाइकल र ज१च १३८१ नम्बरको जीप आपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको महदेवा गाउँपालिका ६ का २२ वर्षीय राकेश यादव र माेटरसाइकलकाे पछाडि बसेका सोही ठाउँका ३२ वर्षीय प्रभास यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
गम्भीर अवस्थामा उद्धार गरिएका दुवैको उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। जीप चालक उदयपुरको कटारी नगरपालिका १ का ललित माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।
मंगलबार नै सुरुङ्गा नगरपालिका–२ स्थित कदमाहामा यात्रुबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको थियो। राजविराजबाट लहान जाँदै गरेको ना २ ख १२६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना६ प ९०४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ का ३५ वर्षीय अरुणकुमार शाहको मृत्यु भएको थियो।
मोटरसाइकलमा पछाडि बसेकी १७ वर्षीया कल्पना शाह घाइते भएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।