धनगढी- नेपाली कांग्रेस कैलालीले स्थानीय तहमा आर्थिक अनियमिता, अवैधानिक कार्य तथा लापरबाही वृद्धि भइरहेको दाबी गरेको छ। कांग्रेस कैलालीले आर्थिक वर्ष २०७५/७६ मा जिल्लाका स्थानीय तहहरूबाट भए/गरेका कामको स्थलगत अनुगमन, अध्ययनका आधारमा तयार गरेको प्रतिवेदनमा स्थानीय तहमा लापरबाही, अनियमितता, अवैधानिक गतिविधिहरु मौलाउँदै गएको उल्लेख छ।
कांग्रेस कैलालीले मंगलबार धनगढीमा पत्रकार सम्मेलनमार्फत् स्थलगत अनुगमन अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै स्थानीय तहबाट हुने कार्यक्रम, निर्णयप्रति निगरानी बढाउन नागरिकमा आग्रह गरेको छ।
पत्रकार सम्मेलनमा कांग्रेस कैलालीका सभापति नरनारायण शाहले स्थानीय तहबाट भए/गरेका विभिन्न विकास निर्माण कार्यको स्थलगत अनुगमनमार्फत् सत्यतथ्य संकलन गरी प्रतिवेदन तयार गरिएको बताए। उनले स्थानीय तहबाट भए/गरेका विकास निर्माण आयोजनाको तथ्यगत जानकारी संकलन गर्न पार्टीका स्थानीय इकाईहरुका साथै स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पार्टीका तर्फबाट रहेका उम्मेदवारहरुलाई समन्वयात्मक ढंगबाट परिचालन गरिएको बताए।
कांग्रेस कैलालीले गत साउन १ देखि भदौ १२ गतेसम्म जिल्लाका १३ वटै स्थानीय तहको स्थलगत अनुगमन गरी २६ पृष्ठ लामो प्रतिवेदन तयार गरेको छ। प्रतिवेदनमा संघीय, प्रदेश तथा स्थानीय तहको बजेट तथा विकास कार्यक्रममा रहेका दोहोरोपन, विकास निर्माण योजनाहरूमा राज्यका सम्पतिको दुरुपयोग बढेको, अबण्डा वा डल्लो बजेटका नाममा राखिएको रकमपछि मनपरी ढंगले भागवण्डा गर्ने तथा आफू नजिकका आसेपासे र कार्यकर्तालाई पोस्ने प्रवृत्ति बढेको, उपभोक्ता समितिले गरेका अधिकांश काममा संरचना लागत अनुमान फारामअनुसार नरहेको, एकतर्फी ढंगबाट उपभोक्ता समितिमार्फत् योजना सञ्चालन गर्ने लगायतका कमीकमजोरीले निरन्त्रता पाएको उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ 'आफना कार्यकर्तालाई ध्यानामा राखेर तदनुरुपका विकास निर्माण योजना छनौट तथा सञ्चालन गरिएको, सडकको ट्रयाक खन्ने, ग्राभेलिङ तथा नदी तटबन्ध जस्ता विकास निर्माण कार्यमा बढि आर्थिक अनियमितता भएको, अघिल्लो आर्थिक वर्षमा भएका योजनालाई देखाएर समेत नयाँ आर्थिक वर्षको बजेटमा मिलेमतो गरी भुक्तानी दिइएको, एकै व्यक्ति दुई तथा त्यो भन्दा बढि उपभोक्ता समिति रहेको, कृषि लगायतका अनुदानमा सत्तापक्षीय जनप्रतिनिधीहरुले सेटिङ मिलाएर आफू र आफना नजिकका व्यक्तिलाई वितरण गरेको, बजेट सिध्याउनकै लागि अधिकांस क्षमता अभिवृद्धिमुलक कार्यक्रम सञ्चालन गरिएको पाइएको छ।'
पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सभापति शाहले भने 'पार्टीले छोटो समयमा जिल्लाका स्थानीय तह, प्रदेश र संघिय सरकारबाट सञ्चालन गरिएका विकास निर्माण आयोजनामा रहेका नीतिगत तथा संस्थागत अनियमितता, भ्रष्टाचार तथा विकृतिको उजागर गर्ने जमर्को गरिएको छ।' प्रतिवेदनमा १३ वटै स्थानीय तहले सञ्चालन गरेका योजनामा भएको आर्थिक अनियमितताको तथ्यसहितको विवरण उल्लेख रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।