नेपालगन्ज- 'स्वास्थ्य युवाका लागि, युवा राष्ट्रका लागि’ भन्ने नाराका साथ नेपालगन्ज कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। बैसाख ३ देखि १२ गतेसम्म हुने प्रतियोगिताका अक्सन (खरिद बढाबढ) का आधारमा टिम तयार गरिने आयोजकले जनाएको छ।
५ नम्बर प्रदेशसहित देशका अन्य प्रदेशका खेलाडीमध्येबाट छनोट समितिले प्रारम्भमा ९० खेलाडी छनोट गरी ६ टिम तयार गर्नेछ।
टिमको सुरुवाती खरिद मूल्य ५० हजार तोकिएको ग्रीन इभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफीले बताए। हरेक टिममा अनुभवी खेलाडीलाई मेन्टरको रुपमा उपलब्ध गराउनेछ। 'टिम मालिकलाई आर्थिक लगानीबाहेक थप झन्झट हुनेछैन, खेलाडीलाई आवास, भोजन, जर्सी लगायत सम्पूर्ण व्यवस्थापन आयोजकले बेहोर्नेछ,' निर्देशक रफीले बताए। प्रतियोगितामा जिल्ला, क्षेत्र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलिसकेका खेलाडीहरुलाई बढीभन्दा बढी सहभागी गराइने उनले बताए।
प्रतिभावान् क्रिकेटर उत्पादनको उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपालगन्ज क्रिकेट कपका इभेन्ट डाइरेक्टर सौगात विक्रम साहले बताए। प्रतियोगितामा सहभागी हुने खेलाडी मध्ये कम्तीमा ६० प्रतिशत खेलाडी ५ नम्बर प्रदेशबाट सहभागी गराउने लक्ष्य आयोजकहरुले राखेका छन्।
'नेपालगन्जका लागि यस्तो अभ्यास नयाँ हो, हाम्रो प्रमुख उद्देश्य यहाँको क्रिकेट माथि उकास्नु नै हो,' साहले भने, 'अक्सनमा टिम खरिद गर्न झन्डै डेढ दर्जन उद्योगी व्यवसायी इच्छुक देखिएका छन्।'
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्रीले यस्ता प्रतियोगिताले खेलाडीहरुमा नयाँ उत्साह जगाउने धारणा व्यक्त गरे।
प्रतियोगिताको कुल लागत २८ लाख ८५ हजार ७ सय ५० रुपैयाँ रहेको छ। विजेता टिमलाई एक लाख १० हजार, उपविजेतालाई ६० हजार नगद पुरस्कारले पुरस्कृत गरिनेछ। अन्य विधागत पुरस्कार समेत नगद व्यवस्था गरिएको जनाउँदै कुल नगद पुरस्कार २ लाख विनियोजन गरिएको आयोजकले जनाएको छ।
बाँके जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग रहने यस प्रतियोगिताका लागि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।