काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न आह्वान गरेका छन्।
इसाई धर्मावलम्बीहरुको महान पर्व क्रिसमसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा रहेकाे बताएका छन्। 'बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो सुन्दर देशमा यस्ता विशेषताहरु मौलिक पूँजीको रुपमा रहेका छन्।' शुभकामना सन्देशमा भनिएकाे छ, 'एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ।'
विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएकाे उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको बताएका छन्।
'विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँ विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ। लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो।' उनले भनेका छन्, 'यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौं।'
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।