काठमाडौं- प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिका सांसदहरुले बदमासी गर्ने कर्मचारीलाई कारबाही नगरी एकठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने व्यवस्था हटाउने व्यवस्था गर्न माग गरेका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल गर्दै सांसदहरुले बदमासी गर्ने कर्मचारीहरुलाई कारबाही नगरी सरुवा गर्ने प्रचलन हटाइने व्यवस्था गर्न माग गरेका हुन्।
सांसद रेखा शर्माले बदमासी गर्ने कर्मचारीहरुलाई कारबाहीको व्यवस्था गर्नुपर्ने बताइन्। 'विधेयकमा सरकारले स्पष्टीकरण लिन सक्ने, बढुवा रोक्ने र निलम्बनसम्म गर्न सक्ने व्यवस्था राख्नुपर्छ,' सांसद पम्फा भुसालले भनिन्।
सांसदहरुले परराष्ट्र सेवामा रहेका कर्मचारीहरु राजदूत बनेर जाँदा ठाउँ खाली हुने तर अर्को कर्मचारी दरबन्दी गर्न नमिल्ने समस्या रहेकाले विधेयकमा सोसम्बन्धी उचित व्यवस्था गर्नुपर्नेमा जोड दिए।
सांसद जनार्दन शर्माले परराष्ट्र सेवाका सहसचिव राजदूत बनेर जाँदा मन्त्रालयमा दरबन्दी सिर्जना हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताए।
त्यस्तै सांसदहरुले तल्लो तहमा रहेका कर्मचारीहरुलाई करारमा लिने व्यवस्था हटाइने व्यवस्था समेत समावेश गरिनुपर्ने बताए। उनीहरुले ठूलो पदमा रहनेले राज्यको सबै सेवासुविधा पाउने तर तल्लो तहमा काम गर्ने कर्मचारीले कुनै पनि सेवा सुविधा नपाउने खालको विभेदकारी व्यवस्था गर्न नहुने बताए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले तल्लो तह मुख्य काम नहुने र पूरै समय कार्यालयमा बस्नुपर्ने आवश्यकता नभएकाले करारमा कर्मचारी राख्ने व्यवस्था गरिएको बताए। उनले मुख्य काम (कोर फङ्सन) र अन्य काम छुट्याउन सकिने बताए।
समितिको मंगलबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ९ अन्तर्गतका १० वटा उपदफाहरुमाथि छलफल भएको थियो। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।