काठमाडौं- सरकारबाट बाहिरिएको समाजवादी पार्टीले संविधान संशोधन सम्बन्धमा प्रधानमन्त्रीको नियत सफा नदेखिएको बताएको छ।
पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका सचेतक उमाशंकर अरगरिया र सांसद रेणुकुमारी यादवले आफूहरु दुई बुँदे सहमति गरेर सरकारमा गएको र त्यो लागू नहुने निष्कर्षमा पुगेपछि सरकारबाट बाहिरिएको बताए।
'हामी सरकारमा संविधान संशोधनको लागि गएका थियौं र संविधान संशोधनको ठोस कुरा सरकारको पक्षबाट गरिएन। त्यसैले राजीनामा गरेका छौं', अरगरियाले भने।
यादवले भने केपी ओलीले सरकारको नेतृत्व गरुञ्जेल संविधान संशोधन नहुने आफूहरुको बुझाइ रहेको बताइन्। यद्यपि, संविधान संशोधन हुने आशा पनि व्यक्त गरिन्। संयम हुँदै संविधान संशोधन गर्न उनले प्रधानमन्त्रीलाई सुझाव पनि दिइन्।
'उपेन्द्र यादवले संविधान संशोधनको प्रस्ताव लग्नुभएको होइन। विज्ञ समूह गठन गर्ने प्रस्ताव लग्नुभएको हो', यादवले भनिन्, 'विज्ञ समूह गठन हुनेबित्तिकै प्रधानमन्त्री किन डराउनुपर्ने?'
उनले प्रधानमन्त्री आवेशमा आएर संविधान संशोधन आफ्नो एजेन्डा नभएको र अहिले संशोधन पनि हुँदैन भनेर भनिसकेपछि सरकारमा बस्नुको औचित्य नभएको बताइन्।
पार्टीको पदाधिकारी बैठक बुधबारका निम्ति बोलाइएको छ। सोही बैठकबाट पार्टीका आगामी रणनीतिबारे विस्तृत जानकारी दिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।