प्युठान– सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुससहित पक्राउ परेपछि कार्यालयको काम प्रभावित भएको छ। सडक डिभिजन कार्यालयका प्रमुख नै नभएपछि सडक निर्माणका काम प्रभावित भएको हो। रोल्पासमेत हेर्ने गरी प्युठानको माण्डवी गाउँपालिकामा कार्यालय स्थापना भएको थियो।
‘कार्यालय कुरेर बसिरहेका छौँ,’ कार्यालयका अधिकृत लोकराज थापाले भने, ‘कार्यालयमा कामकाज लिएर आएका सेवाग्राहीका काम नहुँदा हामीलाई गुनासो गरेर फर्कन्छन्।’ अहिले सामान्य रुपमा प्रशासनिक काम गर्ने गरेको उनले बताए।
लेखापाल जयस पन्तले पनि कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित भएको बताए। अहिले नेपाल सरकार, सडक बोर्ड र प्रदेश सरकारअन्तर्गतका दर्जनौं सडक तथा पुल निर्माणका काम अलपत्र अबस्थामा छ्न भने सेवाग्राही सहज सेवाबाट बञ्चित भएका छन्। जिल्लामा सडक विस्तार तथा मर्मत सुधार लगायतका पूर्वाधारको काम सम्पादन गर्ने कार्यक्षेत्र यसै कार्यालयलाई तोकिएको छ। इन्जिनियर एवं कार्यालय प्रमुख नहुँदा सडक र पुल निर्माणका कामले गति लिन सकेका छैनन्।
अख्तियार टोलीले उनीहरुलाई गत मंसिर २४ गते काठमाडौंको एक क्याफेबाट २० लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।