काठमाडौं- यातायात व्यवस्था विभागले २० वर्ष पुराना गाडीलाई गुड्न रोक लगाएको चैत १ गतेयता १ सय १० वटा सार्वजनिक सवारी साधन जफत गरेको छ।
पछिल्लो पटक मंगलबार वीरगञ्जबाट १६ वटा सवारी साधन जफत गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए।
चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा अनुगमन गरी २० वर्ष पुराना सवारी जफत सुरु गरेका थिए। प्रदूषण र सवारी दुर्घटना बढेको भन्दै सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरी चैत १ गतेदेखि देशभरका सडकमा २० वर्ष पुराना सार्वजनिक यातायात गुड्न रोक लगाएको थियो।
विभागले फागुन मसान्तसम्म २० वर्ष पुराना सवारी पत्रुका लागि निवेदन दिन व्यवसायीलाई सूचित गरेको थियो। त्यस अवधिमा १ सय २७ सवारी पत्रु गर्न १४ अञ्चल कार्यालयमार्फत विभागमा निवेदन प्राप्त भएको देशभर २० वर्ष पुराना सवारीको संख्या १६ हजार ९ सय ६१ रहेको विभागले जनाएको छ।
सरकारले हरियो प्लेट, मिटर ट्याक्सी र अन्य सार्वजनिक यातायातका सवारीलाई २० वर्षे नियम लगाएको हो। निजी र सरकारी नम्बर प्लेटका २० वर्ष पुराना सवारी पनि हटाइनुपर्ने यातायात क्षेत्रका विकृतिविरुद्ध आवाज उठाइरहनुभएका भक्तपुरका रामबहादुर थापाले माग गरे।
निजी र सरकारी नम्बर प्लेटका २० वर्ष पुराना सवारी गुड्न निषेध नगर्दा सडकमा प्रदूषण कम हुन नसकेको उनले बताए। यातायात व्यवसायीको विरोधका बाबजुद विभागले सडकमा २० वर्ष पुराना सवारी गुडे/नगुडेको निरीक्षणलाई निरन्तरता दिएको छ।
यातायात व्यवसायीले भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा २० वर्ष पुराना सवारी जफत गर्ने अभियान बन्द गर्न माग गरिरहेको अभियन्ता थापाले बताए। सरकारले यातायात व्यवसायीका पक्षमा नेपाल राजपत्रमा प्रकाशित भएको सूचनाविपरीत निर्णय गरे प्रदूषण एवं दुर्घटना बढ्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।