काठमाडौं– संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल वाँस्कोटाले पत्रकारिताले अब देशको समृद्धिलाई आफ्नो एजेन्डा बनाउने बेला आएको बताएका छन्। देश समृद्ध भएसँगै प्रेस स्वतन्त्रता पनि बलियो हुने र समग्र प्रेस जगतपछि समृद्धितर्फ अघि बढ्ने भएकाले सकारात्मक पत्रकारिता गर्न उनले आग्रह गरेका छन्।
नेपाल पत्रकार महासंघले बुधबार आयोजना गरेको बधाई र शुभकामना कार्यक्रममा बोल्दै उनले देश नवनिर्माणको चरणमा अघि बढेको भन्दै गलत कुराको आलोचना गरी समृद्ध नेपालको अभियानमा साथ दिन उनले आग्रह गरेका हुन्। कार्यक्रममा उनले देशभक्तिपूर्ण पत्रकारिता गर्न सुझाव दिए।
प्रेस स्वतन्त्रतामा सरकार कटिबद्ध रहेकोले शंका नगर्न आग्रह गर्दै वाँस्कोटाले समृद्धि नै प्रेस स्वतन्त्रताको आधार भएको बताए। प्रेस क्षेत्रको विकासका लागि आफुले सक्दो काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले एकमुष्ठ रुपमा सुझाव दिन आग्रह गरेका छन्। ‘म अफ्ठेरो ठाउँमा छु, किनकी मसँग प्रेस जगतको धेरै नै अपेक्षा छन्,’ उनले भने,‘सामूहिक प्रयासमा धेरै गर्न सकिन्छ भन्ने पनि लागेको छ।’
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लामो समय पत्रकारिता गरेका व्यक्तिले सूचना मन्त्रालयको जिम्मेवारी पाएकोमा समग्र पत्रकारहरुले नै आफुहरु मन्त्री भएजस्तो अनुभव गरेको बताए। सञ्चार जगतलाई बुझेको व्यक्ति मन्त्री भएकाले बास्कोटाबाट आफुहरुलाई धेरै अपेक्षा रहेको बताए। आमसञ्चार नीतिको कार्यान्वायन, प्रेस काउन्सिलको पुर्नसंरचना, सूचना विभागमा प्रेस रजिष्टारको नियुक्ति गर्न उनले सुझाव दिए। त्यस्तै लोककल्याणकारी बिज्ञापनलाई प्रभावकारी बनाउन, समानुपातिक बिज्ञापन नीति कार्यान्वायन गरी साना मिडियाको संरक्षणमा पनि सरकारले जोड दिनुपर्ने उनको सुझाव थियो।
कार्यक्रममा महासंघका पूर्वअध्यक्षडा.महेन्द्र बिष्ट, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, प्रेस चौतारी नेपालका उपाध्यक्ष माधव नेपाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायतले शुभकामना सन्देषसहित मन्त्री वाँस्कोटालाई सुझाव दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।