मेलबर्न- मञ्चमा सुरुवाती गीत प्रस्तुत गरेपछि आफ्ना सदाबहार तीनवटा गीत लगातार गाउने शैली नेपथ्यले केहि वर्षयता विकास गर्दैआएको छ। ती तीनवटा गीत गाइसकेपछि मात्रै एकछिनको चुपचापलाई तोड्दै मुख्य गायक अमृत गुरुङले दर्शकसँग संवाद गर्ने गर्थे। तर, सोमबार मेलबर्नको ‘द पाम एट क्राउन’ मञ्चमा त्यो क्रम भंग हुनपुग्यो।
हाउसफुल दर्शकका बीच ‘भेँडाको ऊनजस्तो’ गीत सुनाउने बित्तिकै अमृत थामिए र भने, ‘हिजो नेपथ्यले एउटा साथी गुमाएको छ। एउटा यस्तो संगीतकर्मी साथी जसले हामीलाई पहिलो हिट गीत ‘छेक्यो छेक्यो’ दिएका थिए। म शुक गुरुङको सम्झनामा यसै मञ्चबाट हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु। उनको आत्मालाई शान्ति मिलोस् ।’
मिर्गौला रोगले पीडित संगीतकर्मी गुरुङको आइतबार बिहान निधन भएको थियो। अमृतले आइतबारै सामाजिक सञ्जालमा शोक प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए। ‘शुक जीले नेपथ्यको प्रारम्भिक कालमा ‘छेक्यो छेक्यो’ गाउन दिएर हामीलाई ठूलो गुन लगाए,’ अमृतले भने, ‘उनको सम्झनाका रुपमा उनका कृति रहिरहने छन्।’
यतिन्जेल हल भित्रका दर्शकहरु भावविभोर हुनपुगेका थिए। ‘कुनै पनि संगीतकर्मीलाई संगीतकै माध्यमबाट सम्झना गरिनु पर्छ,’ अमृतले नै त्यो मौनता भंग गरे र भने, ‘आउनुस् हाम्रा लागि र तपाईंहरु सबैका लागि सदैव प्रिय रहिरहने उनले रचेका गीत गाएरै शुक गुरुङको जीवनलाई उत्सवका रुपमा मनाऔं।’ त्यसपछि अमृतले जसै ‘छेक्यो छेक्यो’ गाउन सुरुगरे, हलभरिका दर्शकले त्यस गीतका प्रत्येक शब्दलाई अमृतसँगै गाएर साथ दिएका थिए।
.jpg)
त्यसपछि नेपथ्य कन्सर्ट नियमित तालिका अनुसारै अघि बढेको थियो। ‘तालको पानी’ गाउँदा हलभित्रका दर्शक उत्साहित थिए। हलभित्र भर्खरै पढ्न आएका विद्यार्थीदेखि लामो समय व्यवसायमा जम्दै आएका व्यापारीसागै फरक–फरक पेसामा आवद्धहरुको जमघट देखिन्थ्यो।
अमृतलाई स्टेजमा सँधैझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए। मेलबर्नको प्रस्तुती सकिएसँगै नेपथ्यको यस वर्षको श्रृंखलावद्ध अष्ट्रेलिया यात्रा सम्पन्न भएको छ।
ब्याण्डको यो पाँचौं अष्ट्रेलिया यात्रा थियो। नेपथ्यको यो संगीत यात्रा नोभेम्बर १९ तारिख ब्रिसबेनबाट सुरु भै डार्बिन, एडिलेड, होबार्ट, सिड्नी हुदैँ मेलवर्नमा आएर सम्पन्न भएको हो। ब्याण्ड, व्यवस्थापन तथा प्राविधिकसहितको १२ सदस्यीय टोली मंगलबारै स्वदेश फर्कनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।