नवलपुर- नवलपुरको गैँडाकोटमा पहिलोपटक कपडा बैंकको स्थापना गरिएको छ।
विपन्न समुदायका व्यक्तिका लागि निःशुल्क रुपमा कपडा प्रदान गर्ने उद्देश्यले कपडा बैँक स्थापना गरिएको हो।
गैँडाकोटमा रहेको संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजले गैँडाकोटको कालीगण्डकी चोकमा कपडा बैंक स्थापना गरेको हो। प्रयोगमा आएका तथा सफा कपडा बैंकमा राखेर गरीबलाई निःशुल्क रुपमा वितरण गरिनेछ।
जाडोको समयमा कुनै पनि व्यक्ति न्यानोबाट वञ्चित हुन नपरोस् भनेर अभियान सञ्चालन गरिएको भन्दै संस्थाका उपाध्यक्ष राजन पौडेलले आफूसँग बढी भएको लुगाकपडा बैंकलाई प्रदान गरेर सहयोग गर्न आग्रह समेत गरेका छन्।
केही समय लगाएपछि व्यक्तिले यसै फाल्ने कपडालाई सफा गरेर पुनः प्रयोगमा ल्याउने गरी कपडा बैंकको स्थापना गरिएको उनले बताए। जाडोबाट विपन्न समुदायका व्यक्ति बढी प्रभावित हुने भएकाले आफ्नो संस्थाले कपडा बैंक स्थापना गरेको पौडेलको भनाइ छ।
कपडा बैंकको उद्घाटन गर्दे गैँडाकोट नगरपालिका-५ का वडाध्यक्ष नवराज कँडेलले यस्तो अभियान दुर्गम गाउँमा लैजान आवश्यक रहेको बताए। उनले जाडो मौसममा कतिपय समुदायमा मानिस कठ्याङ्ग्रिएर बस्नुपरेको अवस्थामा यस्तो अभियानले उनीहरुको जीवनयापनमा सहज हुने बताए।
गरिबीको रेखामुनि रहेका धेरै मानिस आङ ढाक्ने कपडाको समेत अभावमा रहेका बेला कपडा बैंकको स्थापना एउटा सकारात्मक कदम भएको कँडेलले बताए। जाडोको समयमा तराईको विपन्न समुदायका व्यक्ति बढी प्रभावित हुने गरेका छन्।
तराईमा पर्ने शीतलरहका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई बढी समस्या हुने गरेको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।