राजविराज– सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा व्यावसायिक रुपमा जुवा खेल्ने र खेलाउने ७ जनालाई प्रहरीले खालबाटै पक्राउ गरेको छ।
वडा नं २ का रमेश चौधरीको घरबाट राजविराज नगरपालिका ८ का गुलाब यादव, हनुमाननगर कंकालिनी नगरपालिका २ का सुरेशकुमार मण्डल, विष्णुपुर गाउँपालिका १ का श्याम दास, सिरहाको लहान नगरपालिका ७ का राजकुमार श्रेष्ठ, ८ का शिवकुमार साह तथा सुनसरीको इटहरी ४ का रामबहादुर डाँगी र प्रदीप यादवलाई पक्राउ गरिएको हो।
खालबाट २५ थान कौडा, ३ बुक तास र करिब डेढ लाख नगद बरामद गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर डिल्लीबहादुर चौहानले बताए। लामो समयदेखि विभिन्न जिल्लाबाट सप्तरीमा आई जुवा खेल्ने र खेलाउने गरेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले संलग्नहरुलाई रङ्गेहात पक्राउ गरेको उनले बताए। आवश्यक प्रक्रिया र थप अनुसन्धान गरी पक्राउ परेका विरुद्ध जुवा ऐन २०२० अन्तर्गत मुद्दा दर्ता गरिने चौहानले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।