काठमाडौं- नेपाल ट्रष्टको जग्गा नीजि क्षेत्रलाई दिने सरकारी निर्णयबारे राष्ट्रिय सभामा सत्ता पक्षकै सांसदले असन्तुष्टि व्यक्त गरेका छन्।
नेकपाका मुख्य सचेतक खिमलाल भट्टराईले सोमबार राष्ट्रियसभामा सरकारको निर्णयमाथि प्रश्न उठेको भन्दै जवाफ दिन माग गरेका हुन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले गोकर्ण रिसोर्ट र दरबारमार्गको जग्गा भाडामा दिने निर्णयबारे सदनलाई यथार्थ जानकारी दिन सरकारसँग माग गरेका हुन्।
सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले जग्गा भाडामा दिने निर्णयबारे चौतर्फी विरोध र आलोचना भइसकेपछि सरकारलाई स्पष्ट पार्न ध्यानाकर्षण गराएका हुन्। ‘सरकारको तर्फबाट यी विषयमा सदनलाई जानकारी गराइयोस्‚’ उनले भने‚ ‘जग्गा भाडामा दिने निर्णय के कसरी भएको हो जनतालाई बुझाउन जरुरी भएको छ।’
सरकारले हालैमात्र ६ वर्ष अवधि बाँकी हुँदाहुँदै गोकर्ण रिसोर्ट भएको जग्गा यती समूहलाई दिने सम्झौताको म्याद थप गरेको थियो। पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी हुँदा नै नेपाल टष्ट्रको कानून संशोधन गरेर यो निर्णय भएको हो।
यस्तै नेपाल ट्रष्टमातहत रहेको दरबारमार्गको जग्गा पनि धेरै सस्तोमा यती समूहलाई नै दिएको भन्दै सरकारको आलोचना भइरहेको छ। आइतबारको राष्ट्रिय सभा बैठकमा सत्ता पक्ष र विपक्ष दुवैतर्फ बोल्ने सांसदहरुले यो विषयमा कुरा उठाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।