काठमाडौं-दलितका हकहितका लागि गठित राष्ट्रिय दलित आयोगले नै मधेशी दलितमाथि विभेद गरेको एक सांसदले आरोप लगाएका छन्।
राष्ट्रिय सभामा बोल्दै सांसद रामलखन चमारले आयोगले मधेशी दलितलाई फरक नजरले हेर्दा अन्याय भएको बताएका हुन्।
उनले राष्ट्रिय सभामा भने, ‘म बडा दुविधाग्रस्त भएर यहाँ उभिएको छु। एउटा संवैधानिक संगठनको कामका बारेमा टिप्पणी गर्दा दुःखी छु। तर, दलितका पक्षमा काम गर्न गठित एक संवैधानिक निकायले नै मधेशी दलितमाथि विभेद गर्यो।’
दलितका पक्षमा काम गर्ला भनेर आन्दोलन गरेर जन्मिएको संस्थाले नै फरक दृष्टिले हेर्दा मधेशी दलितले विभिन्न अवसर गुमाउनुपरेको उदाहरण उनले अघि सारे। मधेशी दलितले पाउनुपर्ने एमबिबिएस छात्रवृत्तिसमेत गैर दलितले प्राप्त गरेको उनले बताए।
उनका अनुसार दलित आयोगले नै अन्य जातिलाई दलितमा राखिदिँदा मधेशी दलितको ठाउँमा मुखिया र सहनीले एमबिबिएस पढ्ने अवसर पाएका छन्।
उनले भने, ‘दलितको सूची प्रकाशित गर्दा विश्वकर्मा र सुनारका बारेमा विस्तृत उल्लेख गरियो तर मधेशी दलितको एक लाइन पनि लेखिएन। उल्टै मधेशका गैर दलितलाई दलित सूचीमा राख्न सिफारिस गरियो।’
मधेशका अरु जातिलाई दलित सूचीमा हाल्न आयोगले गरेको सिफारिस संघीय मामिला मन्त्रालयले विचार नगरी सूचीकरण गर्दा समस्या उत्पन्न भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।