काठमाडौं–नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले ‘भ्रष्टाचार गर्दिँन र गर्न दिन्न’ भन्ने प्रधानमन्त्रीको भनाइ अहिले जगहसाई बनिरहेको बताएका छन्। रााष्ट्रिय सभाको आजको बैठकमा बोल्दै अधिकारीले भने, ‘सत्तामा बस्दा जनता के सोच्छन् र भन्छन् भन्ने थाहा नहोला तर नेपाल ट्रष्टको सम्पत्ति हिनामिनामा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको संलग्नता र सरकार पक्षबाट आश्वस्त नपार्नु राम्रो संकेत होइन।’
राष्ट्रिय सभामा सांसद अधिकारीद्वारा व्यक्त भनाइः
नेपाल ट्रष्टको बारेमा एक सातादेखि लगातार रुपमा समाचार आइरहेका छन्। एक वर्षअघि विधेयकको रुपमा आएको थियो। त्यो बेलामा हाम्रो पार्टी र मैले यो संशोधन गर्न हुँदैन भनेर विरोध गरेको हो।
मलाई राम्ररी हेक्का छ। बदनियतसाथ आएको छ। नीतिगत भ्रष्टाचार मुहान खोल्छ। जो–जो यो विधेयकमा सहमत थिए। असत्य र झुटो ठहरियो। नेपाल ट्रष्टको सम्पत्ति कसरी व्यक्तिगत हुँदैछ? शिक्षा र स्वास्थ्यमा काम गर्न छुट राखिएको थियो। साविक कानुनअनुसार नेपाल ट्रष्टको सम्पत्ति व्यावसायिक प्रयोजनका लागि थिएन। गृहमन्त्री र सचिवहरुको जिम्मेवारी थियो।
उनीहरुले यति शक्तिशाली थिए कि सत्ताको बागडोर सरकार र पार्टीलाई नै कानुन संशोधन गर्न वाध्य पारे। जब व्यवसाय र सरकारबीच लक्ष्मणरेखा मेटिन्छ अनि भ्रष्टाचार जन्मिन्छ। म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने प्रधानमन्त्रीको भनाइ अहिले जगहँसाई बनिरहेको छ। नेपाल ट्रष्टको सम्पत्ति हिनामिना गर्न प्रधानमन्त्री र उपप्रधानमन्त्रीको संलग्नता छ। सत्तामा बस्दा जनता के सोच्छन् र भन्छन भन्ने थाहा नहोला तर प्रधानमन्त्री र उपप्रधानमन्त्रीको संलग्नता र सरकार पक्षबाट आश्वस्त नपार्नु राम्रो संकेत होइन। प्रधानमन्त्री कार्यालयबाट किन खण्डन भएन ?
जसलाई सम्पत्ति दिइयो सोही संस्थाका कर्मचारी किन ट्रष्टमै छिरे? दरबारमार्गको एक रोपनी जग्गा व्यापारीहरुलाई कसरी सुम्पे। पश्चदर्शी प्रभाव गर्नेगरि नभई नेपाल ट्रष्ट काननु मिचेर तत्कालीन समयमा दिएको हो। गोकर्ण रिसोर्टमा ६ वर्ष बाँकी हुदाँहुँदै किन हतार–हतार दिइयो।
यो विषय नेपालभित्रमात्र अब छैन। ट्रान्सपरेन्सी इन्टरनेशनलले बोलिसकेको छ । योसँगै अन्तर्राष्ट्रियकरण भएको छ। टंगालमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरिरहेको छ ? हुन त उसलाई यो उच्च राजनीतिक संलग्नतामा भएको कुरा राम्रोसँग ज्ञान भएर मौन बसेको होला। अख्तियार यस्तै कामका लागि गठन भएको हो तर उ बोल्ने छैन किनकि हामी सबै समान हौं। दुई तिहाईका सबैलाई छु्न हुँदैन भन्ने बुझ्न हामीलाई यति समय लागेको छ।
अब भक्तपुरको ११६ रोपनी नेपाल ट्रष्टको जग्गामा उनीहरुको आँखा होला । भक्तपुर नगरपालिकाले जग्गा घेर्दा नेपाल ट्रष्टले असन्तुष्टि जनाएर टाउको दुखाएको मैले पढेको छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।