काठमाडौं– हल सञ्चालक र फिल्म वितरकहरुले नेपाली फिल्मलाई उपेक्षा गरेर हिन्दी सिनेमालाई मात्रै बढवा दिँदै आइरहेको आरोप नौलो होइन।
यो साता सिनेमा हलमा कुनै पनि नेपाली फिल्म रिलिज भएन। कारण– बलिउडका ठूला फिल्म रिलिज हुँदा सधैँ यस्तै हुन्छ। यसपाली त झन् सलमान खानको ‘दबंग–३’ रिलिज भइरहेको छ। देशभरका हलहरुमा यसले अत्याधिक शोज पाएपछि निर्माताद्धय दीपकराज गिरी र रोहित अधिकारीले आक्रोश पोखेका छन्।
‘हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा कसरी गर्छन् त हलवालाहरु, देखिहाल्नुभयो, ’ हालै दीपकराजसँग मिलेर ‘छ माया छपक्कै’ निर्माण गरेका निर्माता अधिकारीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘यो ‘दबंग’भन्दा ४–५ गुणा बढी हाम्रो नेपाली फिल्म ‘६क्कापन्जा’सिरिजहरु चलेका थिए तर शोजचाँही चार–पाँचजना गुणा थियो। त्यो नेपाली फिल्म भएरै कम दिइएको थियो।’

त्यस्तै यही स्टाटसलाई सेयर गर्दै निर्माता गिरीले लेखेका छन्, ‘सत्य कुरा। सहि हो। देश उताबाटै चल्या छ। हलको के कुरा?निर्माताहरु हलवालासँग डराउँछन्, हलवाला वितरकसँग डराउँछन्। वितरक उताको खान्छन् अनि यता कराउँछन्।’
नेपालमा सलमानको ‘दबंग–३’को व्यापार अपेक्षित छैन। तर, शुक्रवार क्युएफएक्स चेनमामात्रै यो फिल्मलाई ८८ शो दिइएको थियो। क्युएफएक्सले यसअघि कुनै पनि फिल्मलाई यति धेरै शो उपलब्ध गराएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।