काठमाडौं- गाडीको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि काठमाडौंको चाबहिल क्षेत्र तनावग्रस्त बनेको छ। पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको थियो।
बा ४ ख ५९३० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो। ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका थिए।

प्रहरीका अनुसार विद्यार्थीले एउटा गाडीमा आगजनी गरेका छन् भने अर्को गाडीमा तोडफोड गरेका छन्। विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
पन्त बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जानकारी दिएको छ।
गाडीमा लगाइएको आगो अहिले पूर्ण नियन्त्रणमा लिइएको छ भने व्यापक प्रहरी परिचालन गरिएको छ।

विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसका सिसा तोडफोड गरिदिएका छन्। अहिले पनि अवस्था भने तनावग्रस्त छ।
प्रहरी र विद्यार्थीबीच केहीबेर झडप समेत भएको थियो। सो क्रममा केही विद्यार्थी घाइते भएको पशुपति क्याम्पसका विद्यार्थी नेता करूणासागर सिग्देलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।