काठमाडौं– तीन वर्षअघि फिल्म निर्देशक नवीन सुब्बा पोखरा पुग्दा त्यहाँ रामबाबु गुरुङको निर्देशनमा ‘पुरानो डुंगा’ फिल्मको सुटिङ भइरहेको थियो। फिल्म युनिटबाट सुब्बालाई सुटिङ हेर्न निम्तो आएको थियो।
सुटिङ बेगनास तालमा चलिरहेको थियो। सुटिङस्थल पुगेर फिल्म मेकरसँग नवीनले जिज्ञासा राखे, ‘तपाईले बनाइरहेको ‘पुरानो डुंगा’ कस्तो हो? सलल बग्ने कि भत्किएर थोत्रो भइसकेको? यो अड्किदै अड्किदै सुस्तरी बग्छ कि सलल? यदि यो पुरानो डुंगा हो भने तपाईको क्यामेरा कसरी चल्छ? त्यो डुंगा जसरी तैरिन्छ, त्यसरी नै चल्छ कि चल्दैन?’
जवाफमा फिल्ममेकरले भने, ‘दाई, कहाँ यस्तो गम्भीर कुरा गर्नुभा’को। यो त भात खान बना’को फिल्म हो।’
000
‘हामी यहाँ भात खानलाई फिल्म बनाइरहेका छौँ,’ आइतबार दिउँसो नेपाल वैकल्पिक अध्ययन समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘नेपाली चलचित्रमा मौलिकताको बहस’ विषयक अन्तर्क्रिया कार्यक्रममा ‘पुरानो डुंगा’को यो उदाहरण दिँदै फिल्म निर्देशक सुब्बा भन्दै थिए, ‘अस्ति भर्खरमात्रै एक जना ट्रेन्ड ब्रेकर मानिएका अभिनेताको अन्तर्वार्ता पढेको थिएँ। किन जस्तो पनि फिल्म गरेको भन्ने प्रश्नमा उनी ‘के गर्नु बाँच्नैपर्यो’ भन्दै जवाफ दिइरहेका थिए। हामी भात खानकै लागि मात्रै सिनेमा बनाउने कि बाहिरतिर जे प्रयास भइरहेको छ, त्यो पनि पछ्याउने? पछिल्लो पुस्तामाझ तेर्सिएको गहिरो प्रश्न यही हो।’
नेपालमा वर्षेनी सयको हाराहारीमा नेपाली फिल्म बन्छन्। मुस्किलले दुइ/तीनटा फिल्मले नाफा कमाउँछन्, ४/५ फिल्मले लगानी उठाउँछन्। हिन्दी फिल्मको ‘स्कुलिङ’बाट बन्न सुरु भएको नेपाली सिनेमा आज पनि नक्कल गर्ने प्रवृत्तिबाट मुक्त हुन सकेको छैन।
परिवर्तन कहीँ-कतै भयो भने त्यो नक्कल गर्ने दायरामा मात्र भयो। हिजो हिन्दी सिनेमाबाट मात्रै कपी गरिन्थ्यो भने आज कोरियनदेखि हलिउड सिनेमासम्मको नक्कल हुन थाल्यो।
‘नक्कल गर्ने कुरालाई हामी अझै नराम्रो दृष्टिले लिन सकिरहेका छैनौँ,’ अन्तर्क्रियामा फिल्म समीक्षक अनुप सुवेदी भन्दै थिए, ‘अझ नक्कल गरेर पैसा कमाउने फिल्म त हामीकहाँ गज्जब हुन्छ। जबसम्म यसरी नक्कल गरेर बनाइएका सिनेमालाई हामी स्वीकार्छौ तबसम्म नेपाली फिल्ममा मौलिकताको खोजी हुन सक्छ कि सक्दैन? बहस आवश्यक छ।’
बहसमा सहभागी अधिकांश वक्ताको निष्कर्ष थियो– नेपाली सिनेमाले मौलिक स्वरुप निर्माण गर्न सकेको छैन। मौलिकता निर्माणका लागि मुख्यतः कथ्य संरचना, अभिनय, दृश्यबन्ध (फ्रेमिङभित्र देखिने विषय) र ध्वनि आवश्यक पर्छ। ‘यी चारवटै विषयमा हामीले मौलिकता खोजेनौँ,’ बहसमा सुब्बाले भने, ‘न हामीसँग अरु देशको जस्तै हाम्रो आफ्नै कथा भन्ने संरचना छ, न अभिनय विधि नै। भारतको गुरुकुल र एनएसडी (नेसनल स्कुल अफ ड्रामा)बाट प्रशिक्षित अभिनयलाई नै हामी मौलिक ठानिरहेका छौं। यो ठिक होइन।’
केही समयअघि सुब्बाले एक अन्तर्वार्तामा भनेका थिए, ‘नेपालमा थिएटरका कलाकारले फिल्मको एक्टिङ् बिगारे।’ उनको यो अभिव्यक्तिलाई लिएर रंगमञ्चको क्षेत्रमा ठूलै तरंग पैदा भएको थियो।
‘कतिले त मलाई भेट्यो भने कुट्छु समेत भने रे,’ ठट्यौली शैलीमा सुब्बा पुनः स्पष्ट पार्दै थिए, ‘मैले थिएटर र फिल्मको एक्टिङ फरक हो मात्रै भन्न खोजेको थिएँ। हामीकहाँ थिएटरका साथीहरुले फिल्ममा आएर पनि थिएटरकै जस्तो एक्टिङ गरिरहनुभएको छ, जुन ठूलो समस्या हो। उहाँहरुले चरित्र निर्माण गर्ने कुरा त सिकेर आउनुभयो तर यता (फिल्म) चाँहि कसरी अभिनय गर्नुपर्छ, त्यो सिक्न खोज्नुभएन।’
उनी थिएटरका कलाकारलाई इंगित गर्दै थप भन्दै थिए, ‘थिएटर अभिनयमा ‘फेकिङ’ हुन्छ रे। रुनुपर्यो भने रोएकोजस्तो गर्दिए पुग्छ रे, ताकी परबाट हेर्नेलाई रोएकोजस्तो लागोस्। तर फिल्ममा त्यस्तो हुँदैन, त्यसरी सकिँदैन रहेछ। यो मैले भनेको होइन, तपाईहरुकै गुरु जसले एक्टर स्टुडियो सुरु गर्नुभयो अमेरिकामा, उहाँले नै भन्नुभएको हो।’

नेपालमा क्यामेराको सचेतन प्रयोग नभएको सुब्बाको टिप्पणी थियो। फिल्म ‘बर्डम्यान’ र ‘दी ग्रान्डमास्टर’को दृश्य देखाउँदै उनले भने, ‘फिल्ममा क्यामेराको अर्थ हुन्छ। पात्रको स्वभाव, स्तर र चरित्रअनुसार यसको प्रयोग भइरहेको हुन्छ जुन कुरालाई हामीकहाँ नजरअन्दाज गरिएको छ।’
नेपाली सिनेमामा सबैभन्दा ध्यान नदिइएको पक्ष हो- ध्वनि। संवाद पनि ध्वनि अन्तर्गत नै पर्छ। फिल्म ‘कबड्डी कबड्डी’को उदाहरण दिँदै सुब्बाले भने, ‘यो फिल्ममा थाकखोलाको काजीले भोजपुरको भाषा बोल्छ। त्यस्तै अर्को हिट सिनेमा छक्कापन्जामा पात्र छ सुदुरपश्चिमको, तर बोल्छ काँठको भाषा। यस्तो कसरी हुन्छ? त्यसैले संवादमा ‘एक्सेन्ट’ ल्याउने कुरामा हामी चुकिरहेका छौँ।’
नेपाली सिनेमाहरु हेर्दा लाग्छ, सिनेमाको ध्वनिबारे नेपाली फिल्मकर्मीहरुसँग पर्याप्त ज्ञान छैन। धनी र गरिब दुवैको ढोका उस्तै हुन्छ? दुवैको ढोका खोल्दा उस्तै आवाज आउँछ होला? पक्कै आउँदैन। तर, यस्ता विषयमा नेपाली फिल्म गम्भीर देखिँदैन।
‘नेपाली फिल्ममा त गरिब र धनी दुवैको ढोका खोल्दा उस्तै आवाज निक्लिरहेको हुन्छ,’ सुब्बा उदाहरणसहित भन्दै थिए, ‘पाँचथरमा बास्ने भाले र लमजुङमा बास्ने भालेको स्वर उस्तै हुन्छ त? पक्कै हुँदैन किनभने भाले नै फरक हुन्छ। यसरी भूगोलले ध्वनिमा फरक पारिरहेको हुन्छ। त्यतिमात्रै होइन, ध्वनिले अर्थहरु निर्माण गरिरहेको हुन्छ। ध्वनि पनि स्थानीय हुन्छ। तपाईंले भन्न खोजिरहेको कथा जहाँको हो, ध्वनि पनि त्यतैको हुनुपर्छ।’
बहसमा लेखक युग पाठकले नेपाली फिल्ममा मौलिकता खोज्ने हो भने हाम्रै समाजभित्र प्रसस्तै विषय रहेको बताए। ‘हामीसँग सांस्कृतिक विविधता छ। फरकफरक सुमदायको प्रेम गर्ने तरिका, घृणा गर्ने तरिका, झगडा गर्ने तरिका, कुरा गर्ने तरिका सबै फरक फरक हुन्छ। हो, त्यहीँनेर हामीले मौलिकता खोज्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनी भनिरहेका थिए।
बहसमा लेखक झलक सुवेदी र फिल्मकर्मी सुदिप्ता कार्कीले समेत नेपाली फिल्ममा कसरी मौलिकताको खोजी गर्न सकिन्छ भन्ने विषयमा सुझाएका थिए।
कार्यक्रमको अन्त्यतिर निर्देशक सुब्बालाई दर्शकदिर्घाबाट नेपालमा आदिवासी फिल्मको अवस्थाबारे प्रश्न सोधिएको थियो। जवाफमा उनले भनेका थिए, ‘आदिवासी फिल्मको आफ्नै चरित्र हुन्छ। यसलाई बनाउने पनि आदिवासी नै हुनुपर्छ। यसलाई लेख्ने, यसमा काम गर्ने, क्यामेरा चलाउने सबै आदिवासी हुनुपर्छ। आदिवासीहरुको न्यूनतम मर्म आत्मसात् गरेको हुनुपर्छ। हामीकहाँ यस्तो सम्भव छ त? सम्भव होला तर अहिलेसम्म बनेको छैन।’
अहिलेसम्म नेपालमा वास्तविक आदिवासी चरित्रको फिल्म नबनेको टिप्पणी गरेका उनको निष्कर्ष थियो, ‘भाषा मात्रै आदिवासी भएर पुग्दैन, पात्रलाई पहिरन मात्रै आदिवासीकोजस्तो लगाइदिएर पनि पुग्दैन। यस्तो फिल्म त पैसा कमाउने नियतले भन्दा पनि आदिवासीको पहिचान र कथा झल्काउने नियतले बनेको हुनुपर्छ, ताकि आदिवासीले यस्तो फिल्मलाई उत्सवका रुपमा लिन सकुन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।