काठमाडौं- नेपाल प्रहरीले ६ किलोग्राम अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले अवैध रुपमा लागुऔषध लिएर हिँडेको अवस्थामा बेलारुसी नागरिक पाभेल भेसिलयु, एलिना एल्डोसाइना, बोलिभियन नागरिक रोवर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेजलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यले पाभेल र एलिनालाई काठमाडौँबाट हङकङ जान लागेको अवस्थामा त्रिभुवन विमानस्थल र मेरिइस र ओर्डोनेजलाई लाजिम्पाटको लस्ट गार्डेन होटलबाट पक्राउ गरिएको जानकारी दिए।
‘विमानस्थलमा पक्राउ परेका पाभेल र एलिनाको बयानका आधारमा मेरिइस र ओर्डोनेजलाई पक्राउ गरेका हौँ,’ उनले भने। विमानस्थलको प्रस्थान कक्षमा पाभेल र एलिनाको सुटकेश चेकजाँच गर्ने क्रममा दुवै जनाको सुटकेशमा रहेको ज्याकेटमा फल्स बटम बनाई लैजान लागेको अवस्थामा पक्राउ गरेको ब्यूरोले जनाएको छ।
प्रहरीले पक्राउ परेकासँग ६ किलो कोकिनसमेत बरामद गरेको छ। बरामद भएको कोकिनको मूल्य करोडौँ पर्ने प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई लागुऔषध नियन्त्रण ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।